काठमाडौं, २८ जेठ । राष्ट्रिय जनता पार्टी नेपाल र सरकारबीचको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा दुवै पक्षले आआफ्नै अडान राखेपछि सहमति जुट्न नसकेको हो ।
राजपा नेपालका नेताहरुले संविधान संशोधन सहित राजनीतिक मुद्दाहरु सम्वोधन नभएसम्म चुनावमा जान नसकिने अडान राखेका थिए । सरकारले चुनावपछि संशोधनमा सहमति जुटाउन सकिने तर अहिले चुनाव अघि समय समेत नभएको भन्दै निर्वाचनमा आउन आग्रह गरेको थियो ।
सरकारको प्रस्ताव भने राजपा नेपालका नेताहरुले मानेनन । राष्ट्रिय जनता पार्टी नेपाललाई स्थानिय तहको निर्वाचनका ल्याउने बिषयमा प्रधानमन्त्री कार्यालय सिंहदरवारमा राजपा सहित सत्ता साझेदार दल नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र विच आइतवार छलफल भएको थियो । शनिवार भएको वार्तामा राजपा नेपालले निर्वाचनको मिति परिवर्तन गर्न माग गरेको थियो ।
सत्तासाझेदार दलहरुले भने राजपाको प्रस्तावलाई अस्विकार गरेका थिए । राजपाले आफ्नो माग पुरा नभए सम्म चुनावी प्रक्रियामा सामेल हुन नसक्ने अडान राख्दै आएको छ ।
यस्तै राजपाका नेताहरुले सरकार संग आज भएको वार्तालाई निर्णायक वताएका छन् । सरकार र मोर्चा विच सहमती नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने वताएका छन् ।