काठमाडौ । असोज १० । सानासाना बालबालिका पुतलीसँग खेल्न मन पराउँछन । तर त्यही सेतो पुतली तिनै बालबालिकाकालागि अभिशाप हुनसक्छ ।
अभिभावकहरुले विषेश सावधानी अपनाउनुहोला । अहिले सेतो पुतलीको झुस आँखामा परेपछि बालबालिकामा देखा पर्ने सापु रोगले केही दिनयता कास्कीका विभिन्न गाँउमा महामारीको रुप लिन थालेको छ । पुतलीको झुस आँखामा परेपछि हुने सापु (सिजनल इन्डोथाल्माइटिस) डर लाग्दो रोग हो ।
पुतली आएर आँखामा ठोक्किएपछि वा पुतली खेलाएको हाँतले आँखा मिचेपछि आँखा चिलाउने र दुख्न थाल्छ । अनि परेला सुन्निन थाल्छन र आँखा रातो हुँदै जान्छ । यतिमात्रै कहाँ हो र २४ घण्टा भित्र उपचार नभए आँखाको ज्योती नै गुम्न सक्छ ।
तापक्रम र केमिकलका कारण सेता पुतलीको वृद्धि हुने समय यहि हो । त्यसपछि विस्तारै पुतली आफैं मर्दै जान्छ त्यसैले यही समय धेरै बालबालिकामा समस्या हुनसक्ने जोखिम रहेको भन्दै अभिभावक र बालबालिका सचेत हुनुपर्ने चिकित्सकको सुझाव छ ।
आँखा अचानक रातो हुनु, उज्यालोमा हेर्न गाह्रो हुनु, आँखाको नानी सेतो देखिनु, अत्यन्तै छोटो समयमा ज्योति ज्यादै कम हुँदै जानु लगायत सापुको मुख्य लक्षण हो । सेता पुतलीबाट बच्नु नै यो रोगको मुख्य उपाय भएको चिकित्सकहरुको भनाइ छ । सेतो पुतली साँझमा उज्यालो ठाउँमा मात्रै आउँने र सेतो बल्ब, सेतो पर्दा, झ्याल लगायतमा बढी झुम्मिने गर्छन् ।
१० वर्ष मुनिका बालबालिकामा देखा पर्ने यो रोग केहीदिन यता कास्की आसपासका क्षेत्रमा फैलिएपछि उपचारका लागि आउने क्रम बढेको विपी कोइराला लायन्स नेत्र अध्ययन संस्थान रेटिना विशेषज्ञ सुगन जोशी बताउनुहुन्छ ।
४२ वर्षअघि नेपालमा पत्ता लगाइएको यो रोग केही पहाडी तथा हिमाली भेगमा मात्रै देखिने गरेको छ । अनुसन्धान अनुसार एक वर्ष बिराएर महामारीको रुप लिने यो रोगले यसपाली हिउँदको सुरुवातमै पोखरा आसपासका क्षेत्रमा देखिएको छ ।
रोगको संक्रमणपछि केही बालबालिकाको स्थानीय अस्पताल र राजधानीका आखाँ अस्पतालहरुमा उपचार भैरहेको छ । चिकित्सकका अनुसार यो रोग सरुवा भने हैन । तर समयमा उपचार नपाए दृष्टि समेत गुम्न सक्ने भएकोले बालबालिकालाई सेतो पुतलीको सम्पर्कबाट जोगाउनु नै उत्तम उपाय हो ।