काठमाडौं\पौष ३
महिला सहभागिता र नेतृत्व विकासमा मुलुककै लागि उदाहरणीय काम गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघले वनको दिगो व्यवस्थापन र उद्यमशीलतामा युवा सहभागिता बढाउने गरी काम थालेको छ ।
रोजगारी र अवसरको खोजीमा युवाशक्ति विदेश पलायन भैरहेको अवस्थामा सामुदायिक वनमै उद्दयम बढाउने र युवाको नेतृत्व विकास गर्ने योजनासहित फेकोफनले अभियान नै सञ्चालन गरेको छ । त्यसका लागि स्थानीय तथा प्रदेश स्तरबाटै सामुदायिक वन उपभोक्ता समूहको नेतृत्वमा युवाहरुलाई प्राथमिकता दिने र उनीहरुलाई क्षमता विकास र उद्यमशीलताका तालिमहरु दिने काम गर्दै आएको छ ।
युवाले गाउँ छाडेर विदेशिने क्रम बढ्दै गएपछि अब सामुदायिक वनमै उद्यमका योजना अघि ल्याउनुपर्छ र युवा पलायन रोक्न सकिन्छ भन्ने उद्देश्यले युवालाई नेतृत्व विकास र आयआर्जनसँग जोड्ने गरी उद्यमशीलतामा अघि बढाउन थालिएको सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिनुभयो ।
प्रदेश स्तरबाट नेतृत्व विकास अभियान थालेको फेकोफनले सातै प्रदेशबाट सामुदायिक वन उपभोक्ता समूहको कार्यसमितिमा रहेका ३० वर्षमुनिका युवाहरुलाई जम्मा गरेर नेतृत्व विकास र उद्यमशीलताबारे ३ दिने तालिम समेत दिएको छ । भक्तपुरको बोडेमा पुस २ देखि ४ गतेसम्म आयोजना गरिएको तालिममा सातै प्रदेशका ४५ जना युवा नेतृत्वकर्ताको सहभागिता छ ।
युवालाई वन श्रोतबारे थप जानकारी दिँदै दिगो व्यवस्थापन तथा उद्यमका सम्भावना र सम्वृद्दिको कार्ययोजनाको बनाउन तालिम आयोजना गरिएको फेकोफनकी महासचिव पार्वता गौतमले बताउनुभयो । महिला नेतृत्व विकासको योजना झै युवालाई पनि मुलधारमा ल्याउने गरी फेकोफनले विधानमै व्यवस्था गर्ने विषयमा छलफल थालेको महासचिव गौतमको भनाइ छ ।
तालिममा सामुदायिक वनमा उद्यमको सम्भावना, कार्ययोजना निर्माण, वन नीति र कानुन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, प्राकृतिक श्रोतमा महिलाको भूमिका, जलवायु परिवर्तन र असर र युवाका चुनौति र समाधानका उपायका विषयमा फेकोफनका अध्यक्ष ठाकुर भण्डारी,वरिष्ठ उपाध्यक्ष बीर्खबहादुर शाही, महासचिव पार्वता गौतम, कोषाध्यक्ष शान्ता न्यौपाने, कानुनविद दिलराज खनाल, राष्ट्रिय युवा परिषदकी चन्द्रा थापा, फेकोफनका कार्यक्रम अधिकृत तुलसी ओली लगायतले प्रशिक्षण दिनुभएको थियो ।
सहभागीहरुले तालिमले आफूहरुलाई धेरै कुरा सिकाएको र नेतृत्वमा अघि बढ्न सहयोगी बनेको बताएका छन् ।
नेपालमा पछिल्लो समय युवा पलायन बढ्दो छ । युवा परिषदको तथ्यांक अनुसार युवा साक्षरता ९४ प्रतिशत भए पनि नेतृत्व र सहभागिता भने न्यून छ । अहिले पनि वार्षिक ५ लाखभन्दा धेरै युवा रोजगारी र अवसरका लागि विदेशिने गरेका छन् । कामका लागि विदेशिनेमध्ये एक प्रतिशत दक्ष, २५ अर्धदक्ष र ७४ प्रतिशत अदक्ष जनशक्ति हो । सामुदायिक वनमा उद्यम विकास गर्नसके लाखौ युवालाई देशभित्रै रोजगारी दिन सकिने फेकोफनको भनाइ छ ।