बुटवल, ७ पुस ।
सिमेन्ट उद्योगीले सिमेन्टमा भारी मूल्यवृद्धि गरेपछि तिलोत्तमा व्यापार संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिमेन्ट उद्योगीहरुले कार्टेलिङ गरी प्रतिबोरा २०० रुपियाँसम्म अप्रत्यासितरुपमा मूल्यवृद्धि गरेको भन्दै संघले ध्यानाकर्षण भएको जनाएको हो ।
संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेद्वारा जारी विज्ञप्तीमा केही उद्योगहरुको मिलेमतोमा बिना कारण क्लिङ्करको मूल्यवृद्धि भएको बहाना बनाई सिमेन्टमा गरिएको मूल्यवृद्धिले आम उपभोक्ताको चरम आर्थिक शोषण गर्ने काम भएको उल्लेख छ । संघले तत्काल बढेको मूल्य फिर्ता गर्न समेत उद्योगीहरुको ध्यानाकर्षण गराएको छ । व्यापार सङ्घले सिमेन्टको मूल्य वृद्धिको विरोध गर्दै मूल्य समायोजन माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष विष्णु बराल र महासचिव चेतनारायण विश्वकर्माले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाउनु भएको हो ।