गुल्मी–रुपन्देही सम्पर्क मञ्चको अधिवेशन
बुटवल, पुस १३ । नेकपा एमालेका नेताद्वय प्रदीपकुमार ज्ञवाली र गोकर्णराज विष्टले अहिले मुलुकमा भ्रामक र पूर्वाग्रही हल्ला गरेर समाजमा विग्रह ल्याउने दुस्प्रयास भइरहेको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्न आग्रह गरेका छन् । पार्टीको गुल्मी–रुपन्देही सम्पर्क मञ्चको कार्यक्रममा शनिबार बुटवलमा एक साथ सहभागी भएका नेताद्वयले भ्रामक हल्ला र गालीगलौज गरेर नकारात्मकता फैलाउनेहरुको प्रतिवादन गर्न कार्यकर्ताहरुलाई निर्देशन पनि दिए । सकारात्मक भाव जगाउने, तथ्यका आधारम सत्य स्थापित गर्नुपर्नेमा त्यसको ठिक विपरित होहल्ला, भ्रम र नकारात्मकता फैलाउने काम भइरहेको उनीहरुको दुखेसो थियो ।
अहिलेको सरकारले राज्यको स्रोत, साधन, सामथ्र्यका आधारमा प्राथमिकता निर्धारण गरेर दीर्घकालीन योजनामा काम गरिरहेको उनीहरुको भनाइ थियो । पार्टीका उपमहासचिव ज्ञवालीले मुलुकको आर्थिक समृद्धिलाई गति दिने मात्र होइन, ग्रामीण जीवनस्तर सुधार्न र आत्मनिर्भरताको आधार तयार गर्न सरकार केन्द्रित रहेको उल्लेख गरे । युवाशक्ति र प्राकृतिक स्रोतहरूको सही व्यवस्थापन गरी स्थायी विकासका दिशा खोल्न सरकारले विशेष रणनीति बनाइरहेको उनको भनाइ थियो ।
‘सकारात्मक र तथ्यपरक विषय उजागार गर्दा नै सामाजिक मनोविज्ञानमा सकारात्मक भाव सिर्जना हुन्छ’ नेताहरुले भने–हरेक व्यक्तिका मनमा सकारात्मक उर्जा बढाउने वातावरण निर्माण गर्न अगुवा नेता कार्यकर्ताहरु जुट्नुस् ।’ युवालाई आधुनिक कृषि प्रविधि, व्यावसायिक खेती र कृषि आधारित उद्यम सम्बन्धी तालिम उपलब्ध गराउने र सीपलाई व्यवहारमा परिणत गराउने कार्यक्रम बनिरहेको नेता ज्ञवालीको भनाइ छ । पूर्व परराष्ट्रमन्त्री समेत रहेका उपमहासचिव ज्ञवालीले कृषिमा लागेर प्राप्त भएका सफलताहरुको उदाहरण प्रस्तुत गर्दै गाउँका सम्भावनालाई सहरसंग जोड्दै बजारिकरण विस्तार गर्ने कार्यक्रम बनाउन सकिनेमा जोड दिए । अहिलेको केपी ओली नेतृत्वको सरकारले युवाहरूलाई कृषि क्षेत्रमा व्यवसाय सुरु गर्नका लागि सहुलियतपूर्ण ऋण, अनुदान, बीमा र भन्सार छुटलगायतका प्रावधान अगाडि बढाएको बताउँदै नेता ज्ञवालीले गाउँमा भएको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न अगुवा नेता कार्यकर्ताहरुले पनि सहजीकरण गरिदिनुपर्ने आवश्यकता औंल्याए । पहाडमा भएका उत्पादनहरु जैविक हुने भएकाले विश्व बजारमा माग अधिक रहेको उदाहरण प्रस्तुत गर्दै नेता ज्ञवालीले युवाले सोंच र संकल्प लिएर कुनै न कुनै कृषि उद्यममा सरिक हुने हो भने सम्भावना अथाह रहेको उल्लेख गरे । जैविक खेती र उच्च मुल्यका बाली पहाडमै फलाउन सकिने भन्दै उनले गुल्मीको सत्यवतीको कफीलाई चितवनका एकजना विज्ञले प्रशोधन गरेर ‘ब्ल्याक आइबेरी कफी’ (कफीका दानालाई बोक्रैसित हात्तीलाई खुवाएर त्यसको मलबाट प्रशोधन गरी तयार पारिने कफी)को नामबाट विश्व बजारमा हजारौं डलर प्रति केजीमा विक्रीवितरण गरिरहेको सुनाए । कृषिलाई उद्योगसँग जोडेर स्थानीय रोजगारी सिर्जना गर्नेगरी सरकारले योजना बनाइरहेको र विदेशबाट फर्कने युवाहरूलाई आफ्नो सीप तथा पूँजी कृषि वा उद्यमशिलतामा लगाउन प्रोत्साहन गर्ने कार्यक्रम बनाइरहेको अर्का नेता विष्टले बताए । कृषि कर्म र युवाहरूको विदेश पलायन रोक्ने दीर्घकालीन नीतिहरू निर्माण र कार्यान्वयन गर्नु नै अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गर्दै पूर्वमन्त्री विष्टले हालसम्मको अनुभव, समस्या र उल्झनबाट पाठ सिकेर मुलुकको समृद्धिमा सरकार केन्द्रित रहेको बताए । पार्टी भित्र आन्तरिक लोकतन्त्रलाई पनि सुन्दर बनाउने, सबैखाले विचारलाई सम्मान गर्ने, नयाँ र उत्साह जगाउने विचारलाई प्राथमिकता दिने बताउँदै नेता विष्टले प्रतिरक्षा र प्रतिवाद दुबै काम एकैसाथ गर्नुपर्ने अवस्था सिर्जना भइरहेको बताए । कृषि क्षेत्रको व्यवसायिकीकरण र आधुनिकीकरणका साथसाथै स्थानीय आवश्यकता र विशेषतालाई मध्यनजर गर्दै सरकारले कार्यान्वयन हुने योजना बनाउने र त्यसमा हरेक नागरिकले अपनत्व गर्न सक्ने वातावरणको पनि विकास गर्नुपर्ने आवश्यकता रहेको नेता विष्टको भनाइ थियो । पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका कृषिमन्त्री दिनेश पन्थीले ग्रामीण क्षेत्रमा बाँझो जमिनलाई उत्पादनमूलक उपयोगमा ल्याउने र युवालाई विदेश पलायनबाट रोक्दै स्वदेशमै रोजगारीका सम्भावना सिर्जना गर्नेगरी प्रदेश सरकारले काम गरिरहेको उल्लेख गरे । कार्यक्रममा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, गुल्मीका अध्यक्ष बालसिंह काउचा, प्रदेश सम्पर्क मञ्चका नेता श्री पाण्डे, पूर्व सचिव केदारचन्द्र भुसाललगायतले बोल्दै सकारात्मक उर्जा जगाउनेगरी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । सम्पर्क मञ्चका अध्यक्ष हेम थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष इन्दीरा पाण्डेले स्वागत र सचिव चिरन अर्यालले सञ्चालन गरेका थिए ।