तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५, मणिग्राम स्थित क्रिमसन अस्पतालमा नवजात तथा बाल उपचार सेवा प्रभावकारी बन्दै गएको छ । वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञका रुपमा डा. प्रयास बज्राचार्यलाई नियुक्त गरेसँगै क्रिमसनमा सो सेवा प्रभावकारी रुपमा अघि बढेको अस्पतालको दाबी छ । आम सेवाग्राहीको चाहना तथा आवश्यकतालाई मध्यनजर राख्दै अस्पतालले वरिष्ठ बालरोग विशेषज्ञ डा. बज्राचार्यलाई पुस ३ गतेबाट नियुक्ति दिएको हो ।
लुम्बिनी मेडिकल कलेज पाल्पा, दाङ्ग तथा पूर्वमा लहान लगायतका विभिन्न अस्पतालहरुमा वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ भई काम गरेको लामो अनुभव सँगालेका डा. बज्राचार्यले क्रिमसन अस्पतालबाट नियमित सेवा प्रवाह गरेका छन् । अस्पतालमा नियमित रुपमा डा. अनिल खनाल र डा. प्रयास बज्राचार्यले बाल बालिकाको स्वास्थ्य उपचार र रेखदेख एवं परामर्श सेवा उपलब्ध गराउने अस्पताल प्रशासनले जनाएको छ ।
डा.खनाल र डा. बज्राचार्यको नेतृत्वमा बालबालिकाहरुका लागि आवश्यक एनआईसीयु, आईसीयु, बालबालिकालाई तातो बनाइराख्ने मेसिन रेजिडेन्ट वार्मर, जण्डिस घटाउने अत्याधुनिक फोटो थेरापी मेसिन, श्वासप्रश्वासमा समस्या भएको खण्डमा उपयोग गरिने प्रविधि जडित भेन्टिलेटर लगायतका सबैखाले उपकरण सहित सेवा प्रवाह गर्न अस्पताल सक्षम रहेको जनाइएको छ ।
अस्पतालमा अक्सिजन प्रवाह गर्ने अत्याधुनिक मेसिन, बालबालिकाका लागि आवश्यक सुविधा सम्पन्न वेडहरु उपलब्ध छन् । डा.प्रयास बज्राचार्यले नवजात शिशुहरूलाई अनेक समस्याले सताउने बताउँदै क्रिमसनमा उपलब्ध प्रविधि जडित उपकरणहरु सबैखाले रोग उपचारमा सहज ढंगबाट प्रयोग गर्न मिल्ने खालका भएको जनाए ।
नवजात बालबालिकाहरूमा विशेषगरी श्वासप्रश्वासको समस्या, छाला पहेलो हुने जण्डिस, निमोनिया, झाडापखाला, मिर्गौला सम्बन्धि समस्याहरु, पिसाब सम्बन्धि समस्याहरु, छाला तथा एलर्जीका समस्याहरु, ज्वरो लगायतका समस्याहरु देखा पर्ने र सोको उपचार अवस्थाको आधारमा हुने डा. बज्राचार्यले बताए ।
अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले अस्पतालले प्रवाह गरिरहेको विशिष्टिकृत सेवालाई थप परिमार्जित गर्ने क्रममा डा. खनाल र डा. बज्राचार्य जस्ता २ जना वरिष्ठ चिकित्सकलाई नवजात शिशु तथा बालबालिका हेर्ने गरि नियुक्ति दिइएको बताए । बस्यालले आफ्नै गाउँठाउँमा सर्वसुलभ सहितको अत्याधुनिक स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने अस्पतालको नीति रहेको बताए ।
यस क्षेत्रमा रहेको विभिन्न अस्पतालहरुमा विरामीहरुको अत्याधिक चाप रहने गरेको परिपेच्छमा क्रिमसन अस्पतालले महिला तथा बाल रोग अस्पतालका रुपमा समेत आफुलाई अब्बल बनाउदै लाग्नु आफैमा गर्वको कुरा भएको बस्यालले बताए ।