काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय संयन्त्रको संयोजनको जिम्मा पुनः कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् । कांग्रेस र एमालेले गत कातिक १५ गते संयन्त्र बनाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित दुई दलीय संयन्त्रमा कांग्रेस र एमालेबाट चार÷चार जना सदस्य छन् । सरकारका काम प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो ।
संयन्त्रमा कांग्रेसका तर्फबाट उपसभापति खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् ।
संयन्त्रको पहिलो बैठक गत कातिक २१ गते बसेको थियो । उक्त बैठकले संयन्त्रको संयोजन दुई दलले पालैपालो एक÷एक महिनाका दरले गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार कात्तिक २१ देखि मंसिर २० गतेसम्म पहिलो महिनाको संयोजन कांग्रेस उपसभापति खड्काले गरेका थिए । मंसिर २१ देखि पुस २० गतेसम्म एमाले नेता ईश्वर पोखरेलले गरेका थिए । त्यसयता पुनः कांग्रेस उपसभापति खड्काले संयोजन गर्न थालेका छन् । खड्काले सिंहदरवारमा बुधबार संयन्त्रको बैठक राखेका थिए ।