भैरहवा / पत्रकार प्रतीक पौडेल लायन्स सामाजिक पत्रकारिता पुरस्कार– २०८१ बाट पुरस्कृत भएका छन् । लायन्स क्लब अफ भैरहवा ग्रिनसिटी र लुम्बिनी प्रेस क्लबसँगको समन्वयमा स्थापना भएकाे `लायन्स सामाजिक पत्रकारिता पुरस्कार´ यस बर्ष पत्रकार पौडेललाई प्रदान गरिएको हो । भैरहवा – लुम्बिनी क्षेत्रमा क्रियाशिल पत्रकार पाैडेललाई लायन्स अन्तर्राष्ट्रियले गरेका सामाजिक गतिबिधिलाई मिडिया मार्फत प्रचार-प्रसार गरि सामाजिक सेवालाई प्रबर्द्धन गरेकाे भन्दै पुरस्कार प्रदान गरिएकाे लायन्स क्लब अफ भैरहवा ग्रिनसिटिका निवर्तमान अध्यक्ष मनाेज क्षेत्रिले बताए ।
भैरहवामा आयोजित कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का गभर्नर पीएमजेएफ पुरुषोत्तम भक्त प्रधानाङ्ग, क्लबका अध्यक्ष कमल रायमाझी लगायतले पौडेललाई नगद १० हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरे । पौडेल लुम्बिनी प्रेस क्लबका कार्यसमिति सदस्य हुन् । ५ बर्षदेखि पत्रकारितामा सक्रिय उनी समता टिभीमा र जनता टेलिभिजनमा आबद्ध छन् ।
कार्यक्रममा क्यान्सर राेगकाे उपचार गराइहेका अग्रज पत्रकार मनाेरन्जन शर्मालाई पनि आर्थिक सहयाेग हस्तान्तरण गरिएकाे थियाे । शर्मा काराेवार दैनिकका लुम्बिनी प्रदेश प्रमुख समेत छन् । साे अवसरमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का गभर्नर पीएमजेएफ पुरुषोत्तमभक्त प्रधानाङ्गले लायन्स सदस्यकाे कर्म र पत्रकारहरुकाे कर्म दुबै समाजसेवा भएकाे बताए । उनले सामाजिक र मानवीय सेवा गर्नु नै धर्म भएकाे बताए । क्लबका अध्यक्ष रायमाझीले पत्रकार र लायन्स सदस्यकाे कर्मले सबैलाई एउटै सुत्रमा बाँधेकाे बताए । उनले दुबै क्षेत्रका सदस्यले मिलेर काम गरेमा वास्तविक समाजसेवा हुने बताए ।
कार्यक्रममा लायन्स कल्ब अफ अन्तर्राष्ट्रिय ३२५ पिका लिडरहरु बालाराम भट्टराई, सन्दिप कसाैधन, माधब शर्मा, राकेश गुरुङ, श्री रायमाझी, गाेबिन्दप्रसाद गिरी, बरिस्ठ पत्रकार माधब ढुङागाना, नेपाल पत्रकार महासंघ रुपन्देही काेषाध्यक्ष नरेश केसी, लुम्बिनी प्रेस क्लबका उपाध्यक्षद्वय दीपेन्द्र बडुवाल र दीपक घिमिरे, महासचिव प्रकाश न्याैपाने लगायतकाे आतिथ्यता रहेकाे थियाे ।