काठमाडौं । प्रतिपक्षी दलहरूले संघीय संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलहरूको बैठकले संयुक्त यस्तो निर्णय गरेको हो ।
सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णयसमेत गरिएको बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । बैठकले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्षसमेत निकालेको छ ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत, रास्वपाका डीपी अर्याल, एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी थिए ।
विपक्षी दलहरुको बैठक बिहीबार पुनः बस्नेछ । बिहीबारको बैठकपछि संयुक्त वक्तव्य जारी गरी संसद अधिवेशन बोलाउन दबाब दिने तयारी प्रतिपक्ष दलको छ । विपक्षी दलको संयुक्त वक्तव्य बनाउन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुषालले जिम्मेवारी पाएका छन् ।