बुटवल पौष २
मुलुकको आर्थिक विकास र जनताको सम्वृद्दिका लागि वनको दीगो व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सामुदायिक वन जनताको विश्वविद्यालय भएकाले यसको सदुपयोग र संरक्षणमा सरकारले सघाउनुपर्ने पनि वक्ताहरुको सुझाव छ ।
रुपन्देहीको बुटवलस्थित शिवनगर सामुदायिक वनको २९ औं बार्षिक साधारण सभामा बोल्दै वक्ताहरुले वनमा आधारित उद्यमलाइ प्राथमिकता दिनुपर्ने बताए ।
साधारण सभाको उद्घाटन गर्दै बुटवल उपमहानगर पालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले वनको दीगो व्यवस्थापनमा उपभोक्ताहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उपप्रमुख अर्यालले प्रकृतिलाई सन्तुलन गर्नु सवैको दायित्व भएको बताउँदै वनबाट आम्दानी लिन सक्नुपर्ने बताउनुभयो । कार्यक्रममा डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रविण विडारीले वन,वातावरण र प्रकृतिमाथिको असन्तुलित विकासले समस्या निम्तिने बताउनुभयो । उहाँले २३ हजारभन्दा धेरै सामुदायिक वनले सकारात्मक काम गरिरहेको बताउँदै वन क्षेत्रलाई हरेक किसिमले अतिक्रमणको चुनौतिबाट जोगाउनुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका संघीय कार्यसमिति सदस्य दिनानाथ आर्चायले शहर नजिकै रहेका सामुदायिक वनमा पर्यटन प्रर्वधन गर्न सकिने प्रसस्त सम्भावन रहेको बताउनुभयो । उहाँले बुटवल र यसआसपासका वनहरुको महत्वलाई उजागर गरेर पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाले राज्यले नै सामुदायिक वनमाथि धेरै संरचना बनाएर अतिक्रमण गरिरहेको आरोप लगाउनुभयो ।
कार्यक्रममा पुर्व नगरप्रमुख शिवराज सुवेदीले वनलाई इको पर्यटनसंग जोडेर समुदायको रोजगारीमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै शिवनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मनोज गौचनले वन व्यवस्थापनमा उपभोक्ताले निकै योगदान दिएको बताउँदै समूहले संघसंस्था ,मठमन्दीर ,विद्यालय तथा विपन्न परिवारलाई सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रमा अखिल नेपाल फुटवल संघ एन्फाका उपाध्यक्ष दीर्घ बहादुर केसी, निवर्तमान अध्यक्ष नारायण घिमिरे ,नेपाली काग्रेसका नगर सभापति ज्योति भण्डारी ,नेकपा एमालेका नगर अध्यक्ष शोभाखर पोखरेल,नेकपा माओवादीका डम्मर बहादुर गौचन, रास्वपाका राजन पाण्डे, लगायतले वन र वातावरण संरक्षण गर्दै समुदायको आयआर्जनमा टेवा पुराउने खालका योजना अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो । उपभोक्ता समूहकी सचिव श्यामकली आर्चायको संचालन,उपाध्यक्ष मानकुमारी साठीघरेको स्वागतमा सम्पन्न कार्यक्रममा लेखा समितिका संयोजक हरिप्रसाद रेग्मीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाले अध्यक्ष गौचनले पेस गरेका प्रस्ताव बार्षिक अनुमानित बजेट, प्रस्ताविक विधान परिमार्जित,मस्यौदा माथि छलफल गरी सुझावसहित पास गरेको छ ।