काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । अदालतको आदेशपछि लामिछाने आजै धरौटी बुझाएर रिहा हुनुभएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।
यसअघि जिल्ला अदालत कास्कीले पनि पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
लामिछानेविरुद्ध बुटवल प्रहरीले पनि अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।
यसैबीच काठमाडौँ जिल्ला अदालत परिसरभित्र सहकारी बचत अपचलन विषयको बहस भएपश्चात अदालतबाट निस्किँदै गर्दा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको घटनाको रास्वपाले निन्दा गरेको छ ।
कानुन व्यवसायीमाथिको यसकिसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्याय प्रति विश्वास राख्ने राजनितिक दलको लागि स्वीकार्य नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले दलको अनुशासन विभागको ध्यानाकर्षण भएको र सो घटनामा दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुने जनाएको छ।