काठमाडौँ । इजरायल र प्यालेस्टिनी समूह हमासबीच युद्धविरामको सहमति भएको छ । दुई पक्षबीचको मध्यस्थकर्ताहरू कतार र अमेरिकाका अनुसार हमास र इजरायल दुवैले बन्दी रिहा गर्ने सर्तसहित युद्धविरामको सहमति भएको हो ।
कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीका अनुसार आइतबारदेखि युद्धविराम लागू हुनेछ । युद्धविरामको सहमतिलाई इजरायली क्याबिनेटनले स्वीकृत गरेपछि मात्र लागू हुने बीबीसीले जनाएको छ ।
त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि युद्धविरामसँगै गाजाको युद्ध रोकिनुका साथै प्यालेस्टिनी नागरिकहरूले मानवीय सहायता पाउने र बन्दी बनाइएकाहरू घर फर्किन पाउने बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुका अनुसार सम्झौतालाई अन्तिम रूप दिने काम भइरहेको छ । उनले युद्धविरामको सहमतिलाई प्रवद्र्धन गरेकोमा अमेरिकी राष्ट्रपति बाइडेनलाई धन्यवादसमेत दिएका छन् । त्यस्तै हमास नेता खालिल अल हायाले भने युद्धविराम प्यालेस्टिनी लचिलोपनका कारण सम्भव भएको प्रतिक्रिया दिएका छन् ।