बुटवल । बेलायती संसद् हाउस अफ कमन्समा सत्तारुढ लेबर पार्टीकी सांसद एलेक्स बेकरले नेपालको जलवायु परिवर्तन असरसम्बन्धी विषय उठाएकी छन् । ‘नेपाल जलवायु परिवर्तनसँग लड्ने अन्तिम चरणमा छ । गत वर्षको अन्त्यतिर हामीले काठमाडौंमा बाढीबाट दुई सय जनाको मृत्यु भएको देख्यौं। धेरै वर्षदेखि बेलायतको साझेदार र मित्र बनेको यो राष्ट्रलाई सहयोग गर्न बेलायत सरकारले के गरिरहेको छ ?’ उनले प्रश्न गरिन् ।
सांसद बेकर भूतपूर्व गोर्खा सैनिक तथा नेपाली समुदायको बाक्लो बसोबास रहेको अल्डरसट, फार्नबरो जस्ता क्षेत्रलाई प्रतिनिधित्व गर्ने ‘अल पार्टी पार्लियामेन्ट्री ग्रुप अन नेपाल’ की अध्यक्ष पनि हुन् । बेकरको उक्त प्रश्नको जवाफमा ब्रिटिस विदेशमन्त्री डेभिड ल्यामीले जलवायु परिवर्तनका असरहरूसँग जुध्न ब्रिटिस सरकारले नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाए । विदेशमन्त्री ल्यामीले बेलायत सरकारले नेपाललाई जलवायु परिवर्तनका असरसँग जुध्न तीन करोड ८५ लाख पाउण्ड (झन्डै साढे ६ अरब रुपैयाँ) सहयोग गरेको बताए ।
त्यस्तै उनले नेपालमा जलवायु परिवर्तनका असर कम गरी विकास कार्यक्रम सञ्चालन गर्न आगामी आठ वर्षका लागि ५ करोड ८० लाख पाउन्ड (झन्डै १० अर्ब रुपियाँ) सहायता दिने निर्णय भइसकेको पनि जनाए । विदेशमन्त्री ल्यामीले जलवायु परिवर्तनको मुद्दामा नेपालसँग बेलायतको सम्बन्ध महत्त्वपूर्ण रहेको पनि बताए ।