काठमाडौँ । प्यालेस्टिनी समूह हमासले रिहा गर्ने बन्धकहरूको सूची दिएसँगै गाजामा युद्धविराम लागू भएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै स्थानीय समयअनुसार बिहान ११ः१५ बजेदेखि युद्धविराम लागू भएको जनाएको हो ।
हमास र इजरायलबीचको युद्धविराम स्थानीय समय अनुसार आइतबार बिहान ८ः३० बजेदेखि लागू हुने बताइएको थियो । तर हमासले रिहा गरिने बन्धकहरूको सूची उपलब्ध गराउन ढिलाई गरेकाले तोकिएको समयभन्दा ढिलो युद्धविराम लागू भएको हो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले सूची उपलब्ध नगराएकाले युद्धविराम लागू हुन ढिलाई भएको बताएका थिए । लगत्तै हमासले ’प्राविधिक कारण’ ले ढिलाई भएको भन्दै बन्धकहरूको नाम उपलब्ध गराएको थियो । युद्धविराम सम्झौतामा योजनाबद्ध रूपमा बन्दीहरूको आदानप्रदान हुनुभन्दा कम्तीमा २४ घण्टा अघि नाम उपलब्ध गराउने उल्लेख छ ।
हमासले गाजा क्षेत्रको युद्धविराममा ढिलाई गरेको भन्दै इजरायलले आइतबार बिहान गाजामा आक्रमण समेत गरेको थियो । आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको र २५ जना भन्दा बढी घाइते भएका सीएनएनले जनाएको छ ।