रुपन्देहि माघ ९
सहकारी ठगी प्रकरणमा रुपन्देहि जिल्लामा प्रतिवादी बनाइएका रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले वकिल र परिवारको जिम्मा लगाएको छ ।
बुधबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा रविको बयान भएको थियो । बयानपछि इजलासले वकिल र परिवारको जिम्मा लगाउने आदेश गरेको हो । यो मुद्दामा बिहीबारदेखि थुनछेक बहस हुनेछ ।
बिहीबार अदालतमा उपस्थित गराउनेगरी रविलाई वकिल र परिवारको जिम्मा लगाइएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिनुभयो ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी गरेको आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो । बिहीबार देखि शुरू हुने थुनछेक बहसपछि रविलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्नेमध्ये एउटा आदेश गर्नेछ ।