, माघ उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थिरताका लागि काँग्रेस–एमालेबिचको संयुक्त सरकार बनेको बताउनुभएको छ । सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु पछि बुटवल–गोरुसिंगे सडक बिस्तारका लागि शिलान्यास समारोहलाई संबोधन गर्दै उहाँले मुलुकलाई स्थिरताको बाटोमा लैजान अहिलेको संयुक्त सरकार बनेको बताउनुभयो । आगामी २०८४ सालको निर्वाचनसम्मै दुवै दलबिचको समझदारी कायम रहने भन्दै उहाँले बाहिर चलेका हल्ला जस्तो सत्तारुढ दलबिचमा कुनै समस्या नरहेको बताउनुभयो । उपप्रधानमन्त्री सिंहले सरकारले सुशासन र विकासलाई मूल मुद्दा बनाएर अगाडि बढेको भन्दै यसका लागि सबै क्षेत्रको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले यस क्षेत्रमा महत्वपूर्ण विकासका आयोजनाहरु अगाडि बढिरहेको बताउनुभयो । सुरुङमार्ग आयोजना समयमै सम्पन्न हुने र यो मृत्यु मार्ग नभै जीवन मार्गका रुपमा रुपान्तरण हुने अर्थमन्त्री पौडेलले बताउनुभयो । उहाँले सिद्धबाबा सुरुङ मार्ग आयोजना नेपालको आफ्नै लगानी भएको पहिलो आयोजना रहेको पनि बताउनुभयो । “सिद्धबाबा सुरुङमार्गको कुरा गर्दा हिजो कतिपयनले खिसिट्यूरी गर्थे, तर आज यसले सार्थकता पाएको देख्दा खुसी लागेको छ”–उहाँले भन्नुभयो । त्यस्तै बुटवलदेखि पोखरासम्मको सडक पनि स्तरोन्नतीको काम गर्ने र सडकको दूरी घटाउने गरी अगाडि बढिने अर्थमन्त्री पौडेलको भनाइ छ । अर्थमन्त्री पौडेलले बुटवल–गोरुसिंगे सडक बिस्तारका क्रममा नागरिकले सास्ती नपाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । “बुटवल–नारायणगढ सडक निर्माणमा जस्तो यो सडकमा नागरिकले सास्ती नपाउने गरी काम हुन्छ”–उहाँले भन्नुभयो । बिचको पिच एकैपटक भत्काएर लथालिंग नपारिने र दुवैतर्फको भाग पहिले निर्माण गरेपछि मात्रै बिचको पिच भत्काउने गरी आयोजनाले कामको तयारी गरेको पनि उहाँले बताउनुभयो । आयोजना समयमै र गुणस्तरीयरुपमा सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक रहेको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । कतिपय आयोजनाले निकै पीडा दिएको भन्दै अर्थमन्त्री पौडेलले समयमै आयोजना सम्पन्न गर्ने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणको क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखेर अगाडि बढेको भन्दै बुटवल–गोरुसिंगे सडक बिस्तारको काम समयमै सक्ने गरी अगाडि बढ्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । बुटवलदेखि गोरुसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतीको शुक्रबार शिलान्यास भएसँगै अव काम अगाडि बढ्ने छ । सडक आयोजना कार्यालय बुटवलकी प्रमुख कुशलता न्यौपानेले सडक विस्तारका क्रममा आवश्यक पर्ने निर्माण सामाग्रीहरु ठाउँ–ठाउँमा भण्डारण गर्ने, सडक क्षेत्राधिकारमा पर्ने संरचनाहरु हटाउने, कटान गर्ने रुखको गणना गर्ने र पुल बनाउने र अण्डरपास हुने स्थानको पुनः माटो परीक्षण गर्ने लगायतका काम सम्पन्न भैसकेको जानकारी दिनुभयो । राजा महेन्द्रको पालामा वि.सं. २०१९ सालमा बनेको बुटवल गोरूसिङ्गे ५० किलोमिटर सडक खण्ड ६२ बर्षपछि विस्तारको काम हुन लागेको हो । बुटवल–नारायणगढ सडकमा जस्तो जनतालाई सास्ती नहोस् भन्ने उद्देश्यले बुटवल–गोरुसिङ्गे खण्ड विस्तार गर्दा अहिलेको पिच नभत्काईकन गर्ने पूर्व तयारी छ । आयोजना प्रमुख न्यौपानेले सडक विस्तार क्षेत्रभित्रका पालिकाहरुबाट जनतालाई सास्ती नहोस् भन्ने उद्देश्यले पहिले दुवै छेउँको सडक बनाएपछिमात्र बिचको पिच भत्काउन सुझाव आएकोले सोही अनुसार गर्ने बताउनुभयो ।