लामिछाने विरुद्ध थुनछेक बहस जारी

 

माघ १३
बुटवल । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संगठित अपराधको कसुरमा गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको विरुद्ध दायर मुद्दामा रूपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहस आज आइतबार पनि हुँदैछ ।
गत शुक्रबार बहस नसकिएपछि लामिछानेलाई आज उपस्थित हुनेगरी श्रीमती निकिता पौडेल र वकिलको जिम्मा लगाइएको थियो । लामिछानेविरुद्ध माघ ६ मा जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो । लामिछाने मुद्दाको प्रतिवाद गर्न बुधबार अदालत उपस्थित हुनुभएको थियो । रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीयोगीको इजलासमा पेसी परेको थियो ।
शुक्रबार भएको बहसमा जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ताहरू आरसी गौतम र शैलेन्द्रकुमार यादवले बहस गर्नुभइको थियो । गौतमले रकम अपचलनमा प्रत्यक्ष संलग्नता देखिएको भन्दै लामिछानेलाई थुनामै राख्नुपर्ने माग गरेका छन्‌ । लामिछानेको नाममा सहकारीबाट २ करोड रुपैयाँ गएको र आफैंले चेक काटेर ४० लाख ९२ हजार सहकारीको किस्ताबापत भुक्तानी गरेकाले सहकारी ठगीमा संलग्नताको पुष्टि भएको अधिवक्ता गौतमको जिकिर थियो ।
प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरू सुरेन्द्र थापा र सञ्जय गोलेले बहस गर्नुभएको थियो  । तीनै जनाले अभियोगपत्रमा भएका तथ्यको प्रतिवाद गर्दै सहकारी ठगी र संगठित अपराधमा लामिछानेलाई मुद्दा चलाउनै नमिल्न बहस गर्नु भएको थियो । माघ ६ मा आइतबार रूपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता भएको थियो । मुद्दामा गीतेन्द्रबाबु (जीबी) राई, लामिछानेसहित २८ जनाबाट ५५ करोडभन्दा बढी र लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गरिएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानका सिलसिलामा गत कात्तिक २ मा पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा पुस २५ मा र स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशले ६० लाख धरौटीमा माघ २ मा रिहा हुनुभएको थियो  ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.