बुटवल, माघ २६ । रुपन्देहीमा क्रियाशील निर्माण व्यवसायीहरूको छाता संगठन लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको १८ औं साधारणसभा शनिबार तिलोत्तमामा सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायीहरूको बक्यौता भुक्तानीलगायतका विषयमा प्रदेश सरकार गम्भीर भएको बताए । काम सम्पन्न भइसक्दा पनि भुक्तानी रोकिएका निर्माण व्यवसायीको भुक्तानी प्रक्रिया अघि बढिसकेको उनले बताए । उनले चालू आर्थिक वर्षमै अघिल्लो भुक्तानी क्लियर गर्ने लक्ष्य राखिएको बताए । लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले निर्माण व्यवसायीहरूको योगदानले लुम्बिनी प्रदेशको विकासलाई तीव्र गतिमा अघि बढाइरहेको बताए । उनले सरकार निर्माण व्यवसायीहरूसँग सहकार्य गर्दै पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री ढकालले हाल निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिले निर्माण व्यवसायीहरूलाई गम्भीर चुनौती निम्त्याएको भन्दै सरकार यसबारे संवेदनशील रहेको बताए । उनका अनुसार मूल्य वृद्धिका कारण निर्माण लागत बढ्नुका साथै विकास परियोजनाहरूमा ढिलाई भइरहेको छ । त्यसैले प्रदेश सरकारले व्यवसायीहरूको हकहित संरक्षण र निर्माण क्षेत्रमा स्थायित्व कायम गर्न आवश्यक नीति तथा सहजीकरणका उपायहरू अवलम्बन गर्ने बताए । लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्ष मञ्जु भुसालले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै रुपन्देहि संघ प्रदेशकै प्रमुख निर्माण व्यवसायी संगठन भएको बताइन् । व्यवसायिक गतिविधिसँगै संघ सामाजिक उत्तरदायित्व निर्वाहमा पनि सक्रिय रहेको उनको भनाइ थियो । उनले शववाहन सञ्चालन, विपद् व्यवस्थापन सहयोग, सार्वजनिक संरचनाहरूको निर्माण तथा संरक्षणलगायतका विविध सामाजिक कार्यहरूमा पनी संघको उल्लेखनीय भूमिका रहेको बताइन् । यस्तै संघका पूर्वअध्यक्ष विवेश्वरप्रसाद बस्याल, लुम्बिनी निर्माण व्यवसायी संघ बुटवलका पूर्व अध्यक्ष तथा संघका सल्लाहकार जविन कक्षपतीलगायतले बोल्दै मंसिर महिनापछि निर्माण सामग्रीको मूल्य अकस्मात बढ्दा काम गर्न सक्ने अवस्था नरहेको बताए । कार्यक्रममा संघका संस्थापक अध्यक्ष स्व.चेतमान श्रेष्ठको स्मृतिमा उनको परिवारलाई सम्मान गरिएको थियो । साथै, संघका संस्थापक कार्यसमिति सदस्यहरू, पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, सामाजिक कार्यक्रम संयोजक तथा विशिष्ट व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो । साधारणसभामा संघको २८ वर्षे इतिहास समेटिएको ‘लुम्बिनी निर्माण स्मारिका’ नामक पुस्तकको विमोचनसमेत गरीएको थियो । रुपन्देहीका ५ सय भन्दा बढी निर्माण व्यवसायीहरु संघमा आबद्ध भएका छन् । साधारणसभामा निर्माण व्यवसायीहरूको समस्या, अवसर, तथा भविष्यका योजनाहरूबारे छलफल गर्दै लुम्बिनी प्रदेशको समृद्धि र दिगो पूर्वाधार विकासका लागि व्यवसायी र सरकारबिच सहकार्य आवश्यक रहेको विषयमा जोड दिएको थियो । सभाले पालिका स्तरमा शाखा बिस्तार गर्ने र सदस्यता बृद्धि गर्ने निर्णय गरेको छ ।