दीप बोर्डिङ हाई स्कुलमा खेलकुद सप्ताह सुरु

 

बुटवल, फागुन–२
बुटवल–८ सुक्खानगरस्थित दीप बोर्डिङ हाई स्कुलमा खेलकुदका विभिन्न विधामा विद्याथीहरूबिच प्रतिस्पर्धा गराई पुरस्कृत गर्ने उद्देश्यले बिहिबार खेलकुद सप्ताह सुरु भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् प्याब्सन लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष लालहरि पाण्डेले दीप बोर्डिङ स्कुल शिक्षा, खेलकुद र विद्यार्थीका अन्य अन्तर्निहित प्रतिभा विकासका निम्ति देशकै अब्बल शैक्षिक संस्था बन्न सफल भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– दीप एउटा ब्रान्ड बनेको छ । समाज र अन्य विद्यालयका निम्ति सार्थक सिकाइ केन्द्र बनेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि बुटवल नगर खेलकुद समिति संयोजक बोमिन पिया, बुटवल नगर शिक्षा शाखा अधिकृत यादव विष्ट, विद्यालयका प्राचार्य टीकाराम न्यौपाने लगायतले बोल्नुभएको थियो । विद्यालयका उपप्राचार्यत्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य तथा लेखा प्रमुख रेखा श्रेष्ठ, काठमाडौँ विश्वविद्यालयका शैक्षिक व्यक्तित्व सन्दिप पटेल, विद्यालयका तहगत संयोजक तथा विभिन्न विधाका खेल प्रशिक्षकहरूको आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रम शिक्षक विजय सापकोटा र कृष्ण भुसालको सञ्चालनमा भएको थियो । राष्ट्रिय झन्डा, खेलकुदको झन्डा र नेपाल स्काउटका गरी तीन झन्डोत्तोलन तथा खेलकुद सप्ताहको ब्यानरसहितको बेलुनगुच्छा उडाएर आरम्भ गरिएको कार्यक्रममा विद्यालयमा क्रियाशील विभिन्न क्लब र विभिन्न समुदायका परम्परागत पहिरनका साथ विद्यार्थीले नगरका विभिन्न स्थानमा मार्च पास गरेको थिए । विभिन्न सदनका नामसहित इन्ट्रयाक्ट क्लब, युथ रेडक्रस सर्कल, स्वात, दीप स्पोट्स क्लब, दीप आर्ट आदिका साथै ब्राह्मण, क्षेत्री, थारु, मैथिली, मगर, मुस्लिम, नेवार आदि समुदायका परम्परागत पोसाक र गरगहनामा सिँगारिएका विद्यार्थीहरूले मार्चपास गर्दै नगर परिक्रमा गरेका थिए ।
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ आयोजित खेलकुद सप्तहमा तहगत रूपमा क्रिकेट, कपर्दी, चेस, सय, दुई सय र आठ सय मिटरका दौड, रिले दौड, सटपुट, ब्याटमिन्टन, टेबल टेनिस, बास्केट बल, कराटे, लङ जम्प, अन्ताक्षरी, कुर्ची दौड, तातो आलु आदि विधामा प्रतिस्पर्धा गराइने उपप्राचार्य एवम् अतिरिक्त क्रियाकलाप प्रमुख सुरेन्द्रकुमार शाक्यले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.