बुटवल। तेह्रथुम सदरमुकाम म्याङलुङमा सञ्चालित निशुल्क मुटु परीक्षण शिविरमा ५ सय ७० जनाले मुटु परिक्षण गराएका छन् । लायन्स क्लब अफ काठमाण्डौं बुद्ध युनिभर्सलको आयोजना र शहीद गंगालाल हृदयकेन्द्र काठमाण्डौंको प्राविधिक सहयोग तथा तेह्रथुम जिल्ला प्रतिनिधिसभा सदस्य सीता गुरुङ, म्याङलुङ नगरपालिका, नबिल बैङ्कसहित जिल्लास्थित विभिन्न संस्थाहरुको समन्वयमा शनिबार १ दिने निशुल्क मुटु परिक्षण शिविर सम्पन्न भएको आयोजक विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । शिविरमा मुटु सम्बन्धी परीक्षणहरु, इसिजी, इको, मधुमेह, ब्लड प्रेसर निशुल्क रुपमा परीक्षण गरिएको छ । जिल्लाका ६ वटै पालिकाबाट मुटुमा समस्या भएका पुराना बिरामी तथा मुटु परीक्षणका लागि आएका थिए । तेह्रथुमको सदरमुकाम म्याङलुङमा सम्पन्न एक दिने मुटु परिक्षण शिविर म्याङ्लुङ नगरपालिकाको आर्थिक सहयोग, नबिल बैङ्क लिमिटेड, जिल्लास्थित अन्य स्थानिय निकायहरु, उद्योग वाणिज्य सङ्घ तेह्रथुम, पत्रकार महासङ्घ तेह्रथुम , चौतारी युवा क्लव लगायत बिभिन्न संस्थाहरुको समन्वयमा सम्पन्न भएको हो । शिविरमा परिक्षण गरिएकाहरु थप उपचार गर्नुपर्ने बिरामिहरुलाई गंगालाल ह्रदयकेन्द्र काठमाण्डौमा निशुल्क उपचार गरिने गंगालाल ह्रदयकेन्द्र काठमाण्डौका कार्यकारी निर्देशक डाक्टर रवि मल्लले बताउनुभयो । ‘शिविरबाट लिएको बिरामीहरुको रिपोर्टको आधारमा काठमाण्डौमा गई स्क्रिनिङ गरी थप उपचार गर्नुपर्ने बिरामीको निक्र्याेल गरी जानकारी गराउँछौ । ह्रदयकेन्द्रमै उपचार गर्नुपर्ने बिरामीहरुलाई भरसक निशुल्क नभएमा पनि सहुलियत दरमा उपचार गर्नेछौ ।’ शिविरमा मुटुरोग विशेषज्ञ दिपक लिम्बू सहितको १८ जना बिशेषज्ञ चिकित्सकको टोली सहित ५ जना नर्स र औषधि वितरणमा ३ जना गरी गंगालाल ह्रदय केन्द्रका ३० जनाको प्राविधिक टोलीले शिविरमा सेवा प्रदान गरेका छन् । जिल्लाका ६ वटै पालिकाहरुसँगको समन्वयमा सञ्चालित शिविरका बिरामिहरुको थप उपचारको लागि भने हृदय केन्द्रले जानकारी गराएपछि पालिका मार्फत बिरामिलाई जानकारी गराइने शिविर आयोजक लायन्स क्लबका सचिव आर सी कोइरालाले बताउनुभयो ।