बुटवल । महाशिवरात्री पर्वका अवसरमा सिद्धबाबा मन्दिरमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सिद्धबाबा मन्दिर विकास समितिले पत्रकार सम्मेलन आयोजना गरी भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिएको हो ।
महाशिवरात्रीको अवसर पारेर पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित मन्दिरलाई चिटिक्क सिँगारिएको छ भने मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि टोकन र निःशुल्क बसको व्यवस्थासमेत गरीएको मन्दिर विकास समितिका अध्यक्ष सन्तोषकुमार शेरचनले जानकारी दिनुभयो । उहाका अनुसार जेष्ठनागरीक, अशक्त, असाहयहरुका लागि भने सिधैं मूल मन्दिरमा गएर पूजा गर्न सक्ने ब्यवस्था मिलाइएको छ ।
दर्शनार्थीहरुको सुरक्षाका लागि ३० जना सुरक्षाकर्मी, १५० बढी स्वंयसेवक र १८ वटा सिसी क्यामेराले निरन्तर निगरानी गर्ने ब्यवस्था मिलाइएको अध्यक्ष शेरचनले बताउनुभयो । उहाका अनुसार सिद्धबाबा क्षेत्रमा सरसफाइ, शौचालय, पार्किङ, भण्डारा, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको छ । गतवर्षको शिवरात्रीमा ३५ हजार बढी भक्तजनले दर्शन गरेको बताउँदै अध्यक्ष शेरचनले यो वर्ष ५० हजार बढी भक्तजन दर्शन गराउने गरी तयारी गरिएको बताउनुभयो । भक्तजनहरूलाई दर्शनका लागि बिहान ४ बजेदेखि नै मूल मन्दिर खुला गरिने प्रचारप्रसार संयोजक अरबिन्द पाण्डेले जानकारी दिनुभयो । विगतमा भक्तजनहरु २ देखि ३ घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेकोमा यसबर्ष ४ वटा लाइनको व्यवस्था गरी १ घण्टा भित्रमै दर्हन गर्न सक्ने व्यवस्था मिलाइएको उहाले बताउनुभयो ।
मन्दिरमा दर्शन गर्न जाने भक्तजनका लागि बुटवलका विभिन्न ठाउँबाट दुई वटा निःशुल्क र ७ वटा सशुल्क बसको व्यवस्था मिलाइएको महाशिवरात्रि मेला संयोजक तोया लम्सालले जानाकारी दिनुभयो । बुटवलको योगीकुटी, कालिकानगर, अस्पताल लाइन, देबिनगर, शान्ति चोक, मिलनचोक, ट्राफिक चोक र गोलपार्कबाट बस छुट्नेछन् । भक्तजनलाई दिनभर यातायात सेवा उपलब्ध गराउने लम्सालले बताउनुभयो ।
धार्मिक तथा ऐतिहासिक क्षेत्र सिद्धबाबामा नेपालका विभिन्न जिल्लाहरुसँगै भारतबाट समेत भक्तजन आउने गरेका छन् ।