अमृत गिरी
शिव अर्थात् महादेव, केवल एक धार्मिक आस्था वा देवता मात्र नभई उनी प्रकृति, समन्वय, प्रेम, समानता र त्यागका प्रतीक हुन् । इतिहास, शास्त्र र पुराणहरुले शिवलाई आदि-अनादि, अनन्त, परब्रह्म तथा अव्याख्येय शक्ति मानेका छन् । वेद-उपनिषद्हरुका व्याख्यानमा शिव सत्य, कल्याण र आनन्दका मूर्तस्वरूपका रूपमा प्रस्तुत छन् । उनी प्रकृतिसँग अटुट रूपमा जोडिएका छन्, जसको प्रमाण उनको कैलाशवासी जीवनशैली, सरल आहार-विहार र जीव-जन्तुप्रतिको अगाध स्नेह हो ।
शिवले मानव मात्र होइन, सुर-असुर, वन्यजन्तु, जलचर, नभचर सबैलाई समान माया र स्नेह दिएका छन् । उनले सधैं सत्य, न्याय र निष्पक्षताको समर्थन गरे, चाहे त्यो तारकासुरको संहार होस् वा इन्द्रको मार्गदर्शन । शिवको व्यक्तित्वमा साम्यवादको गहिरो झलक देखिन्छ । उनी धन-सम्पत्तिको लोभ नगर्ने, समान दृष्टिकोण राख्ने, कर्मशीलता र त्यागलाई उच्च स्थान दिने परमपुरुष थिए । उनले आफ्ना छोरालाई राजगद्दी दिनुभन्दा निष्पक्ष शासन प्रणालीलाई महत्त्व दिएर इन्द्रकै पुनर्स्थापना गराए । शिवले नारीत्वको सम्मान र समानताका लागि अर्धनारीश्वरको स्वरूप ग्रहण गरे । सतीको देहत्यागपछि उनले समाधि लिए, तर अन्य नारीतर्फ दृष्टि लगाएनन् । यही कारण उनले शक्तिपीठहरूको स्थापना गरेर नारी महिमा उजागर गरे । शिवको शिक्षाले बताउँछ कि वास्तविक पूजा कर्म, त्याग, सन्तुलन र न्यायमा छ ।
आजको समाजमा शिवको दर्शन अझै सान्दर्भिक छ, तर विडम्बना के छ भने शिवरात्रि जस्ता पर्वहरू विकृत भइरहेका छन् । शिवले विष पिएर संसारलाई कल्याण दिए, तर आज शिवका अनुयायी भनी गाँजा-भाङ सेवन गर्नेहरूले उनको वास्तविक शिक्षालाई विकृत गरिरहेका छन् । शिव नेपालका पनि गौरव हुन् । कैलाश उनको धाम हो, पार्वती नेपालकै पर्वतपुत्री हुन् र किराँत संस्कृति उनलाई सत्यहाङ्वा भनी पूज्छ । शिव केवल धार्मिक आस्था होइनन्, उनी प्राकृतिक सन्तुलन, प्रेम, कर्मशीलता, समभाव र त्यागको शाश्वत सन्देश हुन् । उनी आधुनिक कालका आदर्श साम्यवादीभन्दा कम छैनन् ।