बार्सिलोनाले रोमालाई ६-१ ले हरायो

मंसिर ९, २०७२- च्याम्पिन्स लीग अन्तर्गत गए राति भएका विभिन्न समुहका खेलहरुमा बार्सिलोना, चेल्सी, ब्रायन म्युनिख र आर्सनलले आ–आफ्नो खेल जितेका छन् ।

मंगलबार राति भएका खेलहरुमा स्पेनिस क्लब बार्सिलोना र ईटालियन क्लब रोमाबीचको खेल निकै रोमांचक रह्यो । बार्सिलोनाले आफ्नो घरेलु मैदानमा अभुतपूर्व खेल प्रदर्शन गर्दै रोमालाई ६–१ गोल अन्तरले हराएको थियो ।

बार्सिलोनाका मेस्सी, स्वारेज र नेयमारको ‘ट्रियो’लाई रोक्न रोमाको रक्षापंक्तिलाई हम्मेहम्मे परेको थियो । खेलको १५ औं मिनेटमै स्वारेजले गोल गर्दै बार्साको लागि खाता खोलेका थिए । त्यसको ३ मिनेटपछि नै अद्वितिय २६ पास खेलेर मेस्सीले अग्रतालाई दोब्बर बनाउँदा रोमाका डिफेन्डर निरिह सावित भए ।

मध्यान्तर पूर्व स्वारेजले पुन: अर्को गोल गर्दा बार्सिलोना ३–०को गोल अन्तरसँगै ब्रेकमा गएको थियो । मध्यान्तर पछिको खेलमा पनि बार्सिलोना रोमा माथि हावि भयो । फलस्वरुप जेरार्ड पिकेले ५६ औं मिनेटमा अर्को गोल गरेका थिए । त्यसको ४ मिनेट पछि नै पुन: गोल गर्दै मेस्सीले अग्रतालाई ५–० बनाए ।

खेलको ७६ औं मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टी नेयमारले मिस गरे पनि एड्रियानोले भने मौका खेर जान दिएनन् र बार्साको अग्रतालाई ६–० बनाए । रोमाले खेको अन्तिम तिर पेनाल्टी पायो । तर, एडिन डेज्कोको प्रहारलाई बार्साको किपरले जोगाएका थिए । यद्यपि ९० औं मिनेटमा रोमाले सान्त्वना गोल भने गर्न सफल भएको थियो ।

 

प्रकाशित: मंसिर ९, २०७२

 

Comments

comments