अमलामाथि चर्को दबाब

मंसिर ९, २०७२- दक्षिण अफ्रिका र भारतबीच बुधबार तेस्रो टेस्ट सुरु हुँदा पाहुना कप्तान हसिम अमलामाथि लयमा फर्कन चर्को दबाब हुनेछ । उनीसामु आफ्नो मात्र खेल सुधार्ने दबाब हुने छैन, काँधमा टिमको प्रदर्शन उकास्ने जिम्मेवारी हुनेछ । सन् २०१० मा अमला नागपुरमा भएको टेस्टमै आफ्नो खेल जीवनको दोस्रो ठूलो स्कोर बनाएका थिए ।

त्यसमा उनी २ सय ५३ रन बनाएर नटआउट रहेका थिए र यो उनको २३ शतकमध्ये दोस्रो ठूलो हो । त्यसयता फास्ट बलर डेल स्टेयनले समग्रमा दस विकेट लिँदै भारतमाथि इनिङ्स अन्तरको जित दिलाएका थिए । भारतको पहिलो इनिङ्समा स्टेयनले ५१ रन खर्चेर सात विकेट लिएका थिए र यो उनको अहिलेसम्मको सबैभन्दा राम्रो व्यक्तिगत प्रदर्शन हो ।
चार खेलको सिरिजमा टेस्ट क्रिकेटको नम्बर १ टिम १–० ले पछाडि छ र विदेशी भूमिमा नौ वर्ष अपराजित रहेको कीर्तिमान कायम राख्न जादुयी खेलको प्रदर्शन आवश्यक रहेको छ । अधिकांश समय लयमा रहने अमला यसपल्ट भने फिक्का छन् । मोहालीमा पराजित पहिलो टेस्टमा उनले ४३ र ० रनको प्रदर्शन गरेका थिए । वर्षाले बराबरीमा टुंगिएको बैंग्लोर टेस्टमा उनले सात रन मात्र बनाउन सके ।

यसअघि भारतीय भूमिमा उनको ६ टेस्टमा प्रदर्शन अविश्वसनीय रहेको छ । उनले १ सय २.८७ को औसतमा यी टेस्टमा ८ सय २३ रन बनाएका थिए । अहिले भने अमला त्यसको छेउछाउ पनि पुग्न सकेका छैनन् । त्यसमाथि स्टेयनले खेल्न नखेल्ने टुंगो लाग्न सकेको छैन् । उनी चोटबाट मुक्त हुन संघर्षरत छन् । दक्षिण अफ्रिकी ब्याट्सम्यान आर आश्विन र रवीन्द्र जडेजाको स्पिन आक्रमण अगाडि कमजोर रहेको छ ।

दक्षिण अफ्रिकी खेलाडीमध्ये अहिलेसम्म लयमा देखिएका एक मात्र एबी डी भिल्लियर्स भने सिरिजमा आफ्नो टिमको पुनरआगमन सम्भव भएको मान्छन् । ‘हामी यस्तो स्थितिमा पहिले पनि थियौं र यही स्थितिमा सिरिज जितेको इतिहास पनि छ । अझै दुई खेल बाँकी रहेका छन् र यो सिरिजमा हाम्रो चुनौती अझै कायम रहेको छ । त्यसैले सबै सम्भावना खुला छन् ।’

अर्कोतर्फ भारतसामु तेस्रो खेल जितेर सिरिज आफ्नो पक्षमा पार्ने अवसर हुनेछ । भारतीय कप्तान विराट कोहली पनि सिरिज जितको सम्भावनालाई लिएर उत्साहित छन् । उनी मान्छन्, ‘भारतीय टिम अहिले लयमा छन् र यसको श्रेय सबै खेलाडीलाई जान्छ ।’ नागपुरको पिच पनि भारतीय स्पिन आक्रमणअनुसार निर्माण गरिएको अपेक्षा छ ।

प्रकाशित: मंसिर ९, २०७२

 

Comments

comments