शाहरुखपछि आमिरले पनि भने- भारतमा अहिष्णुता बढ्दो

मंसिर ८, २०७२- बलिउड सुपरस्टार शाहरुख खानले भारतमा धार्मिक अहिष्णुता बढ्दो छ भनेको केही समयपछि अर्का सुपरस्टार आमिर खानले पनि त्यही भनाई दोहोर्‍याएका छन् । सोमबार रामनाथ गोयन्का अवार्ड समारोहमा बोल्दै उनले असहिष्णुता बढेको र पचास भन्दा बढी लेखक कलाकारले आफ्ना पुरस्कार फिर्ता गरेको विषय उठाएका थिए । उनले आफ्नी फिल्म निर्देशक पत्नी किरण रावले त बढ्दो अहिष्णुता र असुरक्षाका कारण भारत नै छोडौं भनेर समेत आफूलाई भनेको बताए ।

आमिरको यो वक्तव्यपछि हिन्दुवादी संगठन र भारतीय जनता पार्टीका नेताहरुले उनको आलोचना गरेका छन् । भाजपाका सांसद् तथा कलाकार मनोज तिवारीले आमिरको भनाईले देशको प्रतिष्ठामा आँच आएको बताएका छन् । शाहरुखलाई पाकिस्तानको एजेन्ट भन्दै उतै गएर बस्न सल्लाह दिने भाजपाका केही नेताहरुले आमिरका विषयमा भने बोलेका छैनन् ।

मोदी सरकारका मुख्तार अब्बास नकबी लगायतले आमिरको आलोचना गरेका छन् । उनीहरुले आमिरको भनाईलाई राजनीतिक प्रभावमा परेर बोलेको बोली बताएका छन् । कांग्रेस उपाध्यक्ष राहुल गान्धी र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने आमिरले सत्य बोलेको भन्दै उनको पक्ष लिएका छन् । भाजपा र मोदी सरकारका मानिसहरुले स्थिति राम्रो बनाउनु सट्टा आलोचना गर्ने कलाकारलाई गाली गर्नुको अर्थ नभएको बताएका छन् ।

 

प्रकाशित: मंसिर ८, २०७२

Comments

comments