जाँदाजाँदै दासानायके : नेपाली क्रिकेटर सधैं मेरो हृदयमा हुनेछन्

११ मंसिर, काठमाडौं । नेपाली क्रिकेट प्रशिक्षकका रुपमा झण्डै चार वर्ष बिताएका पुबुदु दासानायेके शनिबार नेपालबाट विदा हुँदैछन् । नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याएका दासानायके नेपाली क्रिकेट खेलाडी र फ्यानहरुका समेत प्रिय बनेका छन् ।

पुबुदुको कार्यकालमा नेपाल डिभिजन ४ बाट उक्लेर डिभिजन १ मा पुग्यो भने टि-२० विश्वकपमा समेत खेल्ने अवसर पायो । यद्यपि, नेपाललाई एक दिवसीय वरियता दिलाउने मूल लक्ष्य पूरा गर्न भने उनी चुके । यसमा आज उनलाई खिन्नता छ ।

नेपाल छाड्नुपूर्व प्रशिक्षक दासानायकेले अनलाइनखबरसित आफ्नो प्रशिक्षणकालबारे खुलेर कुराकानी गरे । आफ्नो पृष्ठभूमि र भविष्यका योजनाहरुबारे पनि बताए । प्रस्तुत छ, दासानायकेको अनुभव उनकै शब्दमा :

क्रिकेटमा पाइला

सात वर्षको उमेरदेखि क्रिकेट ब्याट समाएको हुँ । ९ वर्षमै स्कुलको टिमबाट अन्डर- ११ टोलीबाट खेल्न पाएँ । श्रीलंकामा सामान्यतया १० वर्षको भएपछि मात्रै स्कुल टीममा लिइन्छ । तर, मेरो दाइ स्कुल टीमबाट खेल्थे । उनकै प्रभावमा मैले ९ वर्षमै टिममा स्थान बनाएँ ।

दाइले स्कुलको अन्डर १५ टिमसम्म खेलेर क्रिकेट छाडे । तर, मैले छाडिनँ । २२ वर्षको उमेरमा राष्ट्रिय टीममा स्थान बनाएँ, टेस्ट र वान डेमा एकै साथ । तर, राष्ट्रिय टोलीमा मैले आफ्नो स्थान लामो समय सुरक्षित राख्न सकिनँ ।

त्यो समयमा अहिलेजस्तो बाक्लै क्रिकेट खेलिँदैनथ्यो । एउटा देशले वर्षमा ३-४ टेस्ट मात्रै खेल्ने मौका पाउँथ्यो । करिब ३ वर्ष राष्ट्रिय टोलीमा रहँदा ११ टेस्ट र १६ वान डे खेल्ने मौका पाएँ । फर्म खस्केपछि मलाई ड्रप गरियो । म दुखित भएँ ।

 

Comments

comments