वैशाख ४, २०७३- गत वर्षको भूकम्प र त्यस अघिको हिमपहिराका कारण रोकिएको सगरमाथा आरोहणमा यसपटक उत्साहजनक रुचि देखिएको छ । यस वर्ष एकजना नेपालीसहित २ सय ८० जना सर्वोच्च शिखर चुम्ने जमर्को गरिरहेका छन् । विनाशकारी भूकम्प र नाकाबन्दीको प्रभावले यस वर्ष थिलथिलो बनेको नेपाली पर्यटन उद्योगमा सगरमाथा आरोहणका लागि यत्रो संख्यामा अनुमति लिनुलाई पर्यटन विभागले ‘उत्साहजनक सहभागिता’ भनेको छ । विभागको पर्वतारोहण शाखाका अनुसार यस वर्ष अनुमति लिनेमा नेपालसहित २९ मुलुकका नागरिक छन् ।
यीमध्ये सबैभन्दा धेरै भारतीय छन् । शाखाका नायब सुब्बा ज्ञानेन्द्र श्रेष्ठका अनुसार यसपटक भारतबाट ६१, संयुक्त राज्य अमेरिकाबाट ५६, बेलायतबाट २६, चीनबाट २०, अस्ट्रेलियाबाट १५, यूएईबाट १२, जापानबाट १० जनाले अनुमति लिएका छन् । यी मुलुकबाहेक पेरु, ग्वाटेमाला, मलेसिया, कोरिया, पोल्यान्ड, न्युजिल्यान्ड, ब्राजिल, अस्ट्रिया, अर्जेन्टिना, क्युबा, मोरक्को, सोलभाका, दक्षिण अफ्रिकालगायत मुलुकका नागरिक पनि यसपटक सगरमाथा आरोहणका लागि नेपाल आइसकेका छन् ।
हालसम्म झापाका अनीश लुइँटेल आरोहीका रूपमा अनुमति लिने एक जना मात्रै नेपाली हुन् । ‘चैतसम्म ३२ वटा आरोहण दलबाट २ सय ८० जनाले वसन्तकालीन सगरमाथा आरोहणको अनुमति पाएका छन्,’ नायब सुब्बा ज्ञानेन्द्र श्रेष्ठले भने । उनका अनुसार चैत १३ गतेदेखि सुरु भएको अनुमति लिने कार्यका लागि विभागका आउने क्रम अझै जारी छ । यो क्रम वैशाख १५ सम्म चल्ने छ । हालसम्म अनुमति लिनेमा ५२ जना विदेशी महिला छन् भने बाँकी २ सय २८ पुरुष छन् ।
सगरमाथा आरोहणमा जानेबाट सरकारले प्रतिव्यक्ति (विदेशी) सँग ११ लाख रुपैयाँ सलामी दस्तुर लिन्छ । नेपालीले ७५ हजार रुपैयाँ मात्रै तिर्नुपर्छ । विदेशीले एकपटक सगरमाथा आरोहण गर्दा कम्तीमा ३० देखि १ करोड रुपैयाँसम्म खर्च गर्छन् । सरकारले हरेक वर्ष प्रतिआरोहण दल एउटा सरकारी अधिकृतलाई सम्पर्क अधिकृतका रूपमा खटाउने गर्छ ।
आधार शिविरमा क्याम्प खडा गरेर बस्ने ती अधिकृतले आफूले जिम्मा लिएको आरोहण टोलीलाई सहजीकरण गर्ने र सगरमाथाको चुचुरोमा पाइला राखेको प्रमाणित गर्ने काम गर्छन् । यिनले आरोहीका तर्फबाट कम्तीमा २ लाख रुपैयाँ भत्ता पाउँछन् ।
विगतका दुई वर्ष प्राकृतिक प्रकोपका कारण सगरमाथा आरोहण रोकिएको थियो । त्यस अघिसम्म ४ हजार ४ सय २८ आरोहीले सगरमाथाको चुचुरोमा पाइला राखिसकेका छन् । यो संख्यामा एक पटकभन्दा धेरै पटक आरोहण गर्ने पनि पर्छन् । यसपटक सगरमाथापछि आरोहणका लागि ल्होत्से हिमालका लागि ९, मकालुका लागि ५, नुप्सेका लागि ५, मनास्लुका लागि ३, धौलागिरिका लागि ३, आमडब्लमका लागि ३, अन्नपूर्ण (एक) का लागि २ जनाले अनुमति लिएका छन् । विभागका अनुसार सगरमाथासहित यो सिजनमा १८ वटा हिमालमा ७६ वटा आरोहण दल जाँदै छन् । अघिल्लो वर्ष यी सबै हिमालका लागि १ सय ३ वटा आरोहण दलले अनुमति लिएका थिए तर भूकम्पका कारण कुनै पनि हिमालमा आरोहण हुन सकेन ।
वैशाख १५ सम्म म्याद भएकाले थप आरोही आउन सक्ने आकलन