दाहाल दोस्रोपटक प्रधानमन्त्री निर्वाचित

0308201603523913918475_1233449853345537_354953722_o-1000x0

श्रावण १९, २०७३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार संसदमा ३ सय ६३ मत प्राप्त गरी नेपालको ३९ औं प्रधानमन्त्री भएका छन् । उनले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथग्रहण गरी कार्यभार सम्हाल्ने छन् । उनी दोस्रो पटक प्रधानमन्त्री भएका हुन् ।

५ सय ९५ सदस्यीय संसद्मा दाहालको विपक्षमा २ सय १० मत परेको छ । मतदानका बेला ५ सय ७३ सांसद उपस्थित थिए । दाहालको पक्षमा कांग्रेस, माओवादी, मधेसी मोर्चा, राप्रपा, नेकपा (संयुक्त) र केही साना दलहरूले मतदान गरे । सरकारबाट बाहिरिँदै गरेका एमाले, राप्रपा नेपाल, नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेमकिपा र अन्य दुई साना दलले विपक्षमा मत दिए । आफूलाई मत दिने दलहरूलाई समेटेर दाहालले बिहीबार सानो आकारको मन्त्रिमण्डल बनाउने छन् ।

दसवर्षे सशस्त्र संघर्षको पृष्ठभूमिबाट आएका दाहाल पहिलो संविधानसभाको सबैभन्दा ठूलो दलको नेताका रूपमा २०६५ भदौमा पहिलोपटक प्रधानमन्त्री निर्वाचित भएका थिए । त्यतिबेलाको दोस्रो ठूलो दल एमालेको समर्थनमा ९ महिना संयुक्त सरकारको नेतृत्व गरेका दाहालले २०६६ वैशाख २१ गते राजीनामा गरेका थिए । त्यसको ९ वर्षपछि उनी पुन: सत्तामा फर्किएका हुन् । यसपालि उनलाई संसदको ठूलो दल कांग्रेस र मधेसी मोर्चाले समर्थन गरेका छन् । दाहालको सरकार ९ महिना नै चल्ने कांग्रेससँग सहमति भएको छ ।

दाहालको प्रधानमन्त्रीमा उम्मेदवारी प्रस्तावमाथिको छलफलमा नयाँ सत्तागठबन्धनका नेताहरूले विकासका लागि राजनीतिक स्थायित्व र शान्तिलाई आधारभूत सर्तका रूपमा व्याख्या गरेका छन् । नवनिर्वाचित प्रधानमन्त्री दाहालले छुट्टै उम्मेदवार खडा नगरी सत्ताबाट बाहिरिएर विपक्षमा मतदान गर्ने एमालेको निर्णयलाई भविष्यको सहकार्यका लागि सकारात्मक कदमका रूपमा अथ्र्याएका छन् । तत्काललाई राष्ट्रिय सहमतिको सरकारको सम्भावना नभए पनि दलहरूबीचको सहकार्यले मुद्दामा सहमति बन्ने दाहालको अपेक्षा छ ।

प्रधानमन्त्री पदका लागि एक मात्रै उम्मेदवारी परे पनि निर्विरोध घोषणा नहुने निमावलीको प्रावधानअनुसार एमालेले उम्मेदवारी नदिए पनि एमालेसहित निवर्तमान सत्ता गठबन्धनका बाँकी घटकहरूले दाहालको विपक्षमा मत दिएका हुन् । अन्तिम समयसम्म ओली नेतृत्वको सरकारमा सहभागी रहेका परिवार दल र बहुजन समाजवादी दलले भने दाहालको पक्षमा मत दिए ।

Comments

comments