पत्रकारिता निकै फराकिलो विषय हो

विद्यादेवी भण्डारी,राष्ट्रपति

समाजका अत्यन्त जागरुक र राष्ट्रको समष्टिगत विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना सम्पे्रषण गर्ने अहं दायित्व बोकेको पत्रकारिता क्षेत्र राज्यको चौथो अंगको रुपमा रहेको मानिन्छ । यस पक्षलाई आत्मसात गर्दै हाम्रो सञ्चार माध्यम राष्ट्र, समाज र नागरिकप्रति जिम्मेवार एवम् उत्तरदायी बनाउन सम्बद्ध पक्षले सदा प्रेरित गरिरहनेछ भन्ने मैले विश्वास लिएको छु । पत्रकारिता निकै फराकिलो विषय हो । सूचना तथा संचार प्रविधिमा आएको अभूतपूर्व विकासका कारण यो क्षेत्रको दायरा अझ बढि व्यापक र संवेदनशील हुँदै आएको छ । संचार माध्यम विकासक्रमको इतिहासलाई हेर्दा नेपालमा छापामाध्यमको संगठित शुरुवात एकसय पन्ध्र वर्ष पहिले गोरखापत्र साप्ताहिकबाट भएको हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना जनमानसमा पु¥याउन, देशमा व्याप्त अशिक्षा, कुरीति र अन्धविश्वासलाई हटाउन तथा विभिन्न विषयमा लाभदायी सूचना पु¥याउन गोरखापत्रले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । २००७ सालको ऐतिहासिक परिवर्तनसँगै देशको पहिलो विद्युतीय संचार माध्यमका रुपमा रेडियो नेपालको स्थापना भएको परिप्रेक्ष्यमा हाल छापा, रेडियो, टेलिभिजन, अनलाईनजस्ता संचार माध्यमहरुको संख्या दिनप्रतिदिन बढ्दो छ ।  यसरी संचार माध्यमको व्यापक विकासका साथै यिनीहरुबीच तीब्र प्रतिस्पर्धा पनि बढेको छ । यस्तो अवस्थामा नियमनकारी निकाय÷संस्थाले यसै अनुरुप आफ्नो दक्षता पनि बढाउनु आवश्यक छ ।

विगत तीन दशक अवधिमा विशेषतः २०४६ सालको राजनीतिक परिवर्तनपछि छापा माध्यम, टेलिभिजन, एफएम रेडियो र अनलाईन क्षेत्रमा संख्यात्मक र गुणात्मक दुवै दृष्टिले विकास भएको छ । २०६२÷६३ को जनआन्दोलन र देशमा आएको आमूल राजनीतिक परिवर्तन, शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन तथा गत वर्ष नेपालको संविधान जारी गर्ने ऐतिहासिक घटना यी सबै युगान्तकारी परिवर्तन र विकासमा नेपालको संचार जगतले सशक्त अभियन्ताको भूमिका निर्वाह गरेको छ । साथै हाम्रो संचार क्षेत्रले लोकतन्त्र, मौलिकहक, मानवअधिकार तथा देशका अल्पसंख्यक, महिला, बालबालिक र विपन्न तथा उत्पीडित वर्गका हक र अधिकारको प्रभावशाली पहरेदारको काम गर्दै आएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात गर्ने नेपालको संविधान जारी भएपछिको परिप्रेक्ष्यमा संवैधानिक प्रावधानको पालना र सम्पादनका अतिरिक्त राज्यको चौथो अंगको ध्यान देशलाई दू्रततर गतिमा अघि बढाउने कार्यमा सहयोगीको रुपमा हुनुपर्ने देख्दछु । अबका दिनमा देशमा न्याय, लोककल्याण, शान्ति र स्थिरतालाई दीगो रुपमा प्रश्रय दिनुका साथै पत्रकारिताले उत्तरदायीढंगले प्राथमिकतामा राख्नुपर्ने क्षेत्रहरुमा नेपालको सर्वोच्च हितमा मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थासँगको सम्बन्ध र आर्थिक कूटनीतिको उपयोग, प्रकृति संरक्षण र लोपोन्मूख जीवजन्तु तथा वनस्पतिको जगेर्ना, प्राकृतिक प्रकोपबाट बच्ने सावधानी  र उपाय, खाद्य सुरक्षा, जनस्वास्थ्य, शिक्षा, खेलकूद, वन, अर्गानिक कृषि लगायत कृषिमा आधुनिकीकरण, साँस्कृतिक सम्पदा तथा पुरातात्विक संरक्षण, पर्यावरण र जलवायु परिवर्तन, पर्यटन आदि पर्ने देखेको छु ।

पत्रकारिता पेशाका मूल्य तथा मान्यतालाई आत्मसात गरी लोककल्याणकारी राज्यले अंगिकार गरेको सामाजिक न्यायमा आधारित समाजको स्थापनामा राज्यको चौथो अंगले मार्गदर्शक र नेतृत्वदायी भूमिका खेल्नसक्ने तथ्यलाई दृष्टिगत गरी यस पेशालाई अझ बढी जिम्मेवार र उत्तरदायी बनाइ जनविश्वास बढाउने कार्यमा प्रेस काउन्सिल सधैँ सजग हुनुपर्दछ ।

आगामी दिनमा सञ्चारमाध्यममा भएको बृद्धिसँगै उत्पन्न हुने समस्याहरूको यथोचित समाधान गर्दै नेपाली पत्रकारिताजगतलाई अझ निष्पक्ष, दीगो, टिकाउ र प्रभावकारी बनाउन काउन्सिल अझ सजग भएर लाग्नुपर्ने चुनौती रहेको छ । साथै राष्ट्र र जनताप्रति अझ जिम्मेवार र प्रतिवद्ध भई स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिताको स्वस्थ्य विकास गर्न काउन्सिल सक्षम हुनेछ भन्ने अपेक्षा गर्दछु ।

(प्रेस काउन्सिल नेपालको ४७ औँ वार्षिकोत्सवका अवसरमा सम्माननीय राष्ट्रपति भण्डारीले असोज ६ गते दिनुभएको मन्तव्यको संपादित अंश)

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.