‘मनभित्रको उज्यालो र सिर्जनाले तन्नेरी जस्तै बन्न सघाएको छ’

बुटवल, असोज ७

राष्ट्रकवि माधवप्रसाद घिमिरे सय बर्षको नजिक पुग्दा पनि जोश जाँगर र सोच तथा ब्यवहार भने मै हुँ भन्ने युवाको भन्दा बलियो छ । बिहिवार आफ्नै निवासमा मतपत्र नेपाल डटकम संग कुरा गर्दै साहित्यकार घिमिरेले आफ्नो साहित्य रचना र तन्नेरी हुनुको रहस्य मात्र खोल्नु भएन संचार माध्यमको महत्व र योगदानको पनि प्रसंशा गर्नुभयो । उहाँले मनभित्र उज्यालो राख्ने र सतविचार तथा सिर्जनशील कामले आफुलाई अहिले पनि तन्नेरी जस्तै बन्न सघाएको उहाँको भनाई थियो । संचारमाध्यमको महत्वबारेको जिज्ञासामा उहाँले भन्नुभयो- मिडिया भएन भने त अध्यारो हुन्छ । तर लोकतन्त्र आएर पनि नेताहरुले देश नसोचेर पार्टी मात्रै सोचेकोमा भने उहाँको चित्त दुखेको रहेछ । अधिकार त ल्यायो तर जनताले पाएका छैनन, यसको महत्व बुझ्न सकेनौ के हामीले नेतातिर संकेत गर्दै उहाँले भन्नुभयो- पार्टी सोच्यौ देश सोचेनौ के । वि.सं.१९७६ असोज ७ गते लमजुङ जिल्लाको बाहुनडाँडामा जन्मिनुभएका राष्ट्रकवि घिमिरे २०७३ साल असौज ७ गतेबाट ९८ बर्षमा प्रवेश गर्नुभएको छ । ९८औ जन्मदिन मनाइरहँदा पनि उहाँ विभिन्न कार्यक्रममा सरिक हुने र मन्तव्य दिने काममै ब्यस्त हुनुभयो । शुभकामना दिन पुगेका सवैसित दिल खोलेर हास्नुभयो । धेरैलाई चिन्नु भयो नचिन्नेलाई पनि ए हो भनेर चासो पुर्वक स्वागत गर्नुभयो । उमेरले शताव्दिको नजिक पु्याउँदा पनि उहाँ साहित्य सिर्जनामा ब्यस्त हुनुहुन्छ । उहाँ अहिले ‘ऋतम्भरा’ महाकाव्य लेखिरहनुभएको छ । जसमा राम्रो बिचारलाई प्राथमिकता दिइएको छ- घिमिरेकी छोरी शान्ता अधिकारीले मतपत्रसँग भन्नुभयो । शान्ता घिमिरेको जेठी श्रीमती गौरी तर्फकी छोरी हुनुहुन्छ । प्रकृतिका अनेकन बिबिध पक्षहरुलाई आफ्ना जिवन्त रचनाहरुमा समावेश गर्दै जिवनलाई नै प्रकृति सापेक्ष ढङगबाट व्याख्या गर्ने उहाँ लेखाईहरु दिर्घसाधनाले भरिएका छन । उहाँले १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाउनुभएको थियो । त्यो कविताले नै आफुलाई साहित्यमा आउन प्रेरणा दिएको उहाँको भनाई छ । मतपत्र डटकमसँग त्यो प्रसंग सुनाउँदै उहाँले भन्नुभयो – त्यो कविता आएपछि मलाई तिमि कवि बन्ने भयौ भनेर एकजनाले सुनाउँदा म सवैभन्दा बढी खुसी भएको थिए त्यति खुसी त राष्ट्रकवि हुँदा पनि भइन । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार घिमिरेको नेपाली साहित्यमा अतुलनीय योगदान छ । बाल्यावस्थादेखी निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा कलम चलाउदै अएका बहुमुखी प्रतिभाका धनि घिमिरेको गौरी खण्डकाब्य चर्चित मध्येको एक कृति हो । आई कहिल्यै नसकिने चैत वैशाख मेरो, लाई कहिल्यै नसकिने प्रीत नौलाख मेरो राष्ट्रकवि घिमिरे आफ्नै कविताको यो अंशमा जस्तै सय बर्ष पुग्न लाग्दा पनि सवैसँग प्रित लगाउँदै आत्मियता प्रकट गरिरहनुभएको छ । २०६२ सालमा राष्ट्रकविको उपाधी पाउनुभएका घिमिरेका ‘गौरी’, ‘राष्ट्र निर्माता’, ‘धर्ती माता’, ‘पापीनी आमा’, ‘राजेश्वरी’, ‘नव मंजरी’, ‘नयाँ नेपाल–खण्ड काव्य’, ‘मालती मंगले–गीति नाटक’, ‘आफ्नै बाँसुरी आफ्नै गीत–निबन्ध संग्रह’, ‘शकुन्तला–नाटक’, ‘किन्नर किन्नरी–कविता संग्रह’, ‘बाल लहरी’ र ‘घामपानी–बाल कविता संग्रह’ लगायतका अन्य कृति प्रकाशित छन्। उहाँलाइ त्रिभुवन विश्वविद्यालयले विशेष दीक्षान्त समारोह आयोजना गरि मानार्थ महाविद्यावरिधी (डिलिट) उपाधि प्रदान गरेको छ । जन्मदिनको राष्ट्रकविलाई शुभकामना ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.