आन्तरिक राष्ट्रियता मजबुत बनाउनुपर्छ : डा. भट्टराई

बुटवल, असोज १०। नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले विकास, समृद्धि र प्रगतिका लागि आन्तरिक राष्ट्रियता मजबुत बनाउनुपर्ने बताउनुभएको छ । ‘सत्ताबाट बाहिर रहँदा गाली गर्ने अनि सत्तामा हुँदाचाहीँ विदेशीका सामु लम्पसार पर्ने राणाकालदेखिकै द्वेध चरित्रकै निरन्तरताले आन्तरिक राष्ट्रियता बलियो हुँदैन’, काठमाडौंमा नयाँ शक्ति पार्टी, नेपालको प्रशिक्षण विभागले आयोजना गरेको केन्द्रीय कार्यकारी समिति सदस्यहरुलाई अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा ‘नयाँ शक्ति नेपालको वैचारिक–राजनीतिक आधार’ विषयमा प्रशिक्षित गर्दै उहाँले भन्नुभयो – ‘नयाँ शक्तिले त्यस्तो पाखण्डपूर्ण राजनीति गर्दैन । दुई ठूला अर्थतन्त्रबीचको सम्बन्धलाई आर्थिक समृद्धिका लागि गतिशील पुलको रुपमा ग्रहण गर्नेछ ।’ बाह्य थिचोमिचोको अन्त्य गर्नका लागि आन्तरिक राष्ट्रियतालाई ठीक ढंगले व्यवस्थापन गर्नु जरुरी रहेको उहाँले बताउनुभयो ।

नयाँ शक्ति पार्टीले अवलम्बन गरेको ५ ‘स’ (समानुपातिक, समावेशी र सहभागितामूलक लोकतन्त्र, समृद्धिसहितको आर्थिक विकास, सदाचार र सुशासन, स्वाधीनता एवं सार्वभौमसत्ता र समुन्नत समाजवाद) को व्याख्या गर्दै उहाँले भन्नुभयो –‘मुलुकको विकास र समृद्धिका लागि सबैभन्दा पहिले विद्यमान आर्थिक परनिर्भरतालाई हटाएर अन्तरनिर्भरतामा बदल्नुपर्दछ ।’

त्यसैगरी उहाँले आर्थिक विकासका लागि सबैभन्दा पहिले राज्यले पूर्वाधारजन्य क्षेत्रहरुमा तीव्र लगानी बिस्तार गरी रोजगारीका अवसर सिर्जना गर्नुपर्ने र निजी क्षेत्रलाई उत्पादनका अन्य क्षेत्रहरु मूलत: कृषि, पर्यटन, उद्योग तथा सेवाजन्य क्षेत्रहरुमा लगानी अभिवृद्धि गर्न लगाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो – ‘अहिलेको आवश्यकता उत्पादनमा जोड दिने र वितरणमा ध्यान दिने हो ।’

नेपालका राजनीतिक पार्टीहरुले अहिलेसम्म पारम्परिक ढंगबाट मात्रै राजनीति गरेकोले अब त्यसमा परिवर्तन आवश्यक रहेको उहाँको जोड थियो । औपचारिक लोकतन्त्रले सबै वर्ग, जाति, भाषा, धर्म र समुदायका नागरिकहरुलाई समावेशीताको सिद्धान्त अनुसार राज्यको संरचनामा सहभागी गराउन नसक्ने भन्दै नेपालको लागि विशिष्टीकृत लोकतन्त्रको आवश्यकता रहेको उहाँले बताउनुभयो । ‘हामी प्रक्रियाका रुपमा लोकतान्त्रिक र वाम, प्रगतिशील, अग्रगामी दृष्टिकोणसहितको अग्रपन्थी पार्टी हांै’, उहाँले भन्नुभयो – ‘पुरानो उदारवाद र राज्य–समाजवादबाट माथि उठेको समुन्नत समाजवाद हाम्रो लक्ष्य हो ।’

प्रशिक्षण कार्यक्रममा विभिन्न विषयमा विभिन्न विषयविज्ञहरुले प्रशिक्षण दिनुहुनेछ । केन्द्रीय कार्यकारी समितिका सदस्यहरु र विभिन्न जिल्ला र प्रदेशका प्रतिनिधिहरुलाई अलग अलग गरी चार दिनसम्म प्रशिक्षण कार्यक्रम चल्नेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.