त्रिशुलीमा बेपत्ताहरु खोज्न सबै उपाय लगाइन्छ- गृहमन्त्री निधि

बुटवल,असोज ११ । तीनदिन देखि त्रिशुली नदीमा बेपत्ता पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे लगायतको खोजी जारी भएपनि हालसम्म कुनै प्रगती हुन सकेको छैन । खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका पाँच सयभन्दा बढी सुरक्षाकर्मी र स्थानीय बासिन्दा पनि खटिएका छन् ।

मंगलवार विहानैदेखि खोजी कार्यभएपनि नदीमा पानीको बेग बढी भएकोले बेपत्ताहरुको स्थिति पत्ता लगाउन कठिन भैरहेको सुरक्षा निकायले जनाएको छ । यसैबीच मंगलवार घटनास्थल पुग्नुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दुर्घटनामा बेपत्ताहरुको खोजीमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । उहाँले खोजी कार्यमा वाटर क्यामरा, पानीभित्र खोज्न मेसिन लगायत उच्च प्रविधि प्रयोग गरिएको र त्यो अपुग भए विदेशबाट थप उच्चस्तरीय प्रविधि मगाउन सरकार तयार रहेको बताउनुभयो ।

घटनास्थलको निरीक्षणमा गृहमन्त्री निधि सहित गृहसचिव लोकदर्शन रेग्मी, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका आईजीपी दुर्जकुमार राई र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मी र शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थी लगायत पुगेका थिए ।

पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी आइतवार त्रिशूलीको घोप्टेभीरमा दुर्घटनामा परेको थियो । घटनामा तीन जनाको मृत्यु भएको छ भने पूर्वगृहमन्त्री घिमिरे र उहाँका दुई भाइ बेपत्ता छन् ।  बाबुको श्राद्ध गरेर मुस्ताङबाट फर्कंदै गर्दा परिवारै चढेको गाडी आइतबार त्रिशूलीमा खसेको थियो । गाडी चालक भने घाइते भएका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.