परिवर्तनको सिद्धान्त नै नयाँ शक्तिको दर्शन- डा. भट्टराई

बुटवल,असोज १२ ।नयाँ शक्ति पार्टी, प्रशिक्षण विभागले आयोजना गरेको ४ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा राजनीति, अर्थतन्त्र, दर्शन, सांगठनिक स्वरुप, उत्प्रेरणा, उत्पादन, संघीयता, व्यवस्थापनलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित २० वटा विषयहरुमा विज्ञहरुले प्रशिक्षण दिनुभयो ।
प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले समापन मन्तव्य प्रस्तुत गर्दै समाज निरन्तर परिवर्तनशील रहेको र मान्छेको चेतना पनि निरन्तर परिवर्तनशील हुने भएकोले निरन्तर परिवर्तनको सिद्धान्त नै नयाँ शक्तिको राजनीतिक दर्शन रहेको बताउनुभयो । ‘निरन्तर क्रान्ति र निरन्तर परिवर्तनको सिद्धान्त नै नयाँ शक्तिको सिद्धान्त हो । हामी हिजोको वादमा टाँस्सिएर बस्दैनौं । किनकि हिजोको वाद भनेको रुढीवाद हो ।’ उहाँले भन्नुभयो – ‘हाम्रो विचार निरन्तर गतिको सिद्धान्त र निरन्तर क्रान्तिकै सिद्धान्त हो । यसर्थ, दायाँबायाँको तालमेल मिलाउँदै अगाडि बढ्ने नै नयाँ शक्तिको कार्यदिशा हो ।’
नयाँ शक्ति परम्परागत प्रवृत्तिबाट फेरिंदै सिद्धान्त, व्यवहार, कला, संस्कृति विभिन्न रुपले सम्पूर्ण हुने बताउनुभयो । ‘राजनीति गर्ने मान्छेले ज्ञानको दायरालाई फराकिलो बनाउन आफूसँग भएको कला र क्षमता भरपुर प्रयोग गर्नुपर्ने हुन्छ’ उहाँले भन्नुभयो –‘नयाँ युगको नयाँ काम गर्नका लागि पुराना कुरालाई मेटाउनु आवश्यक हुन्छ ।’
उहाँले नयाँ शक्तिले लिएको विकास र समृद्धिको अवधारणामाथि प्रकाश पार्दै विकासका लागि भौतिक विकास, आयको समन्यायिक वितरण, वातावरणको सन्तुलन र व्यक्तिको आत्मीक सुखसहितको आर्थिक विकासको अवधारणा लागू गर्ने बताउनुभयो । त्यस्तै समानुपातिक लोकतन्त्रको सन्दर्भमा उहाँले पार्टीले सबै वर्ग, समुदाय, जातिको एकता कायम गरेर कसरी राष्टिय एकता कायम गर्ने भन्ने प्रश्नको हल गर्नकै लागि आदिवासी–जनजाति, मधेशी–थारु र खस–आर्यको तीनवटा क्लस्टरको अवधारणा ल्याएको बताउनुभयो । उहाँले हालै प्रधानमन्त्री प्रचण्डले भारतमा गरेको सहमतिको बुँदा नं. ११ जसले नेपाललाई भुटानीकरण गर्ने खतरा रहेको भन्दै त्यसविरुद्ध दबाबमूलक कार्यक्रम संचालन गर्ने बताउनुभयो । साथै उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि समेत पार्टीले संघर्ष गर्ने बताउनुभयो ।
नयाँ शक्ति साँच्चिकै नयाँ बन्नुपर्ने आवश्यकता औंल्याउँदै कार्यकर्ताहरुलाई रुपान्तरित भएर नयाँ बन्न निदेर्शित गर्नुभयो । ‘व्यक्ति रुपान्तरित भएर नयाँ नभएसम्म नयाँ शक्तिको नेतृत्व गर्न सक्दैन’, उहाँले भन्नुभयो – ‘मलाई पनि नयाँ बन्न दिनुहोस् र आफू पनि नयाँ बन्नुहोस््’
प्रशिक्षण कार्यक्रमको अन्तिम दिन बुधबार प्रशिक्षार्थीहरुलाई प्रशिक्षणात्मक मन्तव्य दिंदै संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले सांगठनिक संरचनाको बारेमा प्रशिक्षणमा सहभागी अभियन्ताहरुलाई पार्टीको संगठनात्मक विधि र प्रणालीको बारेमा प्रशिक्षण दिनुभयो । उहाँले नयाँ शक्तिले आफ्नो संगठनात्मक स्वरुपमा गाउँको वडातहदेखि केन्द्रीय कमिटिसम्म प्रत्यक्ष निर्वाचित विधिबाट कार्यकारी पदाधिकारीहरु चयन गर्ने बताउँदै संगठनलाई गुटभन्दा बाहिर विधि र पद्दतिलाई अनुशरण गर्ने बताउनुभयो ।
कार्यक्रममा नेता केशवमान शाक्यले उत्पादनमा जोड दिएका देशहरु नै अहिले विश्वमा धनी र सम्पन्न भएका उदाहरण दिंदै विकास र समृद्धिका लागि स्रोत र साधनका अलवा मानव शक्ति परिचालन अपरिहार्य रहेको बताउनुभयो । उहाँले जापान र कोरियाजस्ता स्रोतबिहीन मुलुकहरु समेत मानव श्रम परिचालन गरेर समृद्ध भएकोले स्रोत साधानसहित पर्याप्त मानव संशाधन भएको हाम्रोजस्तो देशलाई केही वर्षभित्रै सम्पन्न बनाउन सकिने बताउनुभयो ।
त्यसैगरी डा. प्रदिपमान तुलाचनले देशको आर्थिक समृद्धिका लागि युवा शक्ति परिचालन गर्दै व्यवसायमा जागरण ल्याएर स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो ।
डा. राजेन्द्र केसीले संगठनको व्यवस्थापनका विषयमा प्रशिक्षण दिंदै नयाँ शक्तिलाई सिस्टममा ल्याउनुपर्ने बताउनुभयो । उहाँले पार्टीहरुमा व्याप्त रहेको गुटबन्दीप्रति लक्षित गर्दै संगठन सानो र कमजोर हुँदा एक हुने तर, ठूलो हुँदा फुट्ने परिदृष्य यसअघिका पार्टीहरुमा देखिएको भन्दै नयाँ शक्तिले विधि र प्रक्रियामार्फत यो क्रमलाई अन्त्य गर्ने बताउनुभयो ।
त्यसैगरी नयाँ शक्तिको दर्शनशास्त्र र समाजवादको प्रश्नबारे प्रशिक्षण विभाग प्रमुख डम्बर खतिवडाले प्रशिक्षण दिनुभयो । उहाँले नयाँ शक्ति वाम लोकतान्त्रिक चरित्रको अग्रपन्थी पार्टी भएको बताउनुभयो ।
पार्टीको अनुशासन आयोगका प्रमुख पर्शुराम खापुङले पार्टीभित्र अनुशासनको पालना गराउने र अराजकता अन्त्य गरी पार्टीमा सदाचारयुक्त संस्कृतिको निर्माण गर्ने बताउनुभयो । कार्यक्रममा केन्द्रीय परिषद् सदस्य हरिराम रिमालले पार्टीमा सूचना तथा प्रविधिको आवश्यकता र प्रयोगको बारेमा सहभागीहरुलाई जानकारी दिनुभयो । त्यस्तै डा. योगी विकासानन्दले सहभागीहरुलाई उत्प्रेरणायुक्त मन्तब्यसहित योग शिक्षाको व्यवहारिक आवश्यकतासम्बन्धी जानकारी गराउनुभयो ।
कार्यक्रममा नयाँ शक्ति पार्टी केन्द्रीय प्रचार, प्रसार, सूचना तथा सञ्चार विभागले प्रकाशन गरेको पार्टीको मुखपत्र नयाँ शक्ति नेपालको संयोजक डा. भट्टराईले विमोचन गर्नुभयो । असोज ९ गतेबाट चलेको केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा केन्द्रीय कार्यकारिणी समिति सदस्यहरु, प्रदेशका प्रतिनिधिहरु, जिल्ला संयोजकहरु, आंगिक संगठनका प्रतिनिधि, विभिन्न विभागका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यालय सचिव वामदेव क्षेत्रीले कार्यक्रमको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.