बुटवल, असोज १४ ।इजरायलका पूर्व प्रधानमन्त्री सिमोन पेरेजको अन्त्येष्ठी गरिएको छ । गत बुधवार ९३ वर्षको उमेरमा पेरेजको निधन भएको थियो । अन्त्येष्ठीमा सहभागी हुन विश्वभरका शिर्षस्थ नेता जेरुसलेम पुगे । पेरेजप्रति श्रद्धान्जली दिन अमेरिकी राष्ट्रपति बराक ओबामा, फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओल्याण्ड, प्यालेष्टिनी नेता मोहम्मुद अब्बास, लगायतका विश्व नेता जेरुसलेम पुगेका हुन । सन् १९४८ मा स्वतन्त्र इजरायललाई एउटा राष्ट्रका रुपमा स्थापना गर्ने प्रमुख नेताका रुपमा चर्चित पेरेजले इजरायलमा प्रधानमन्त्री र राष्ट्रपतिका रुपमा दुइ पटक कार्यभार सम्हाल्नु भएको थियो । सन् १९९४ मा प्यालेष्टाइनसँग शान्ति सम्झौताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा उहाँकासाथै प्यालेष्टिनी नेता यासेर अराफात र इजरायली प्रधानमन्त्री इत्ज्याक रविनलाई संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । एजेन्सीहरु