गगन थापाको प्रस्तावः काठमाडौंमा एउटा मात्र स्थानीय तह राखौं

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसले प्रस्तावित ५६५ स्थानीय तहको विरोध गरिरहेको छ । तर, कांग्रेस नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले भने काठमाडौमा एउटा भन्दा बढी स्थानीय तह बनाउन नहुने बताएका छन् ।

गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले शनिबार काठमाडौमा गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले मुलुकको राजधानी भएकाले काठमाडौंका नगरपालिकाहरुलाई गाभेर एउटा महानगर बनाइनुपर्ने बताए ।

स्थानीय निकायको संख्या तथा सीमा निर्धारणका लागि बनेको आयोगले काठमाडौमा ८ वटा स्थानीय तहको प्रस्ताव गरेको छ ।

तर, स्वास्थ्यमन्त्री थापाले मुलुकको राजधानीमा सात/आठ वटा स्थानीय तह राख्न नहुने भन्दै भनेृका छन्, सिंगो काठमाडौं एउटा नगरपालिका हुनुपर्छ । र, अलि पछाडि ग्रेटर काठमाडौंका रुपमा काठमाडौं, भक्तपुर र ललितपुर मिलेर एउटा पोलिटिकल युनिट बन्नुपर्छ ।’

स्थानीय तहको संख्याबारे अहिले केही विवाद् देखिएपनि स्थानीय तहको निर्वाचन आगामी चैत महिनामा हुने मन्त्री थापाको दाबी छ । उनले चैत महिनामा निर्वाचन हुनेमा कुनै किसिमको शंका नगर्न आग्रह गरेका छन् ।

स्वास्थ्यमन्त्री थापाले पदमा रहुञ्जेल पार्टीका केही नेता तथा कार्यकर्ताको भन्दा आम जनताको चित्त बुझाउने गरी काम गर्ने बताए । पार्टीका केही नेता तथा कार्यकर्ताले काम नगरिदिएको भनेर चित्त दुखाए पनि आफूले त्यसप्रति कुनै प्रवाह नगर्ने बरु आम जनतालाई खुशी तुल्याएर पार्टीको साख बढाउने उनको दाबी छ ।

कार्यक्रममा उद्योगमन्त्री नविन्द्रराज जोशीले उद्योगहरुमा लगानीको वातावरण बनाएर युवाहरुले रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

२०७३ भदौ १८ गते १४:१९ मा प्रकाशित

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.