भूकम्प पीडितलाई पहिलो किस्तामा डेढ लाख नै दिनुपर्छः देउवा

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूकम्प प्रभावितहरुलाई पहिलो किस्तामा डेढ लाख रुपैयाँ उपलब्ध गराइनुपर्ने बताएका छन् ।

पहिलो किस्तामा डेढ लाख उपलब्ध गराउने सहमपितलाई व्यवस्थापिका संसद्ले अनुमोदन गरिसकेको भन्दै उनले सरकारले यसलाई कार्यान्वयन गर्नुपर्ने बताए ।

सिंगापुरकमा स्वास्थ्य उपचार गराएर शनिबार स्वदेश फर्किएका देउवाले त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलमा सचारकर्मीसँग भने,  ‘अब यो निर्णय तत्काल कार्यान्वयन हुन्छ, यस विषयमा सरकारले के गरिरहेको छ , म प्रधानमन्त्रीसँग कुराकानी गर्छु ।’

कांग्रेसले लगातार संसद् बैठक अवरुद्ध गरेपछि अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई महिना पहिले संसद् बैठकबाट भुकम्प प्रभावितहरुलाई पहिलो किस्ता स्वरुप डेढ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । तर, दाताले सहमति नजनाएको भन्दै राष्ट्रिय पुनर्निमाण प्राधिकरणले ५० हजार रुपैयाँका दरले अनुदान वितरण गरिरहेको छ ।

कांग्रेस सभापति देउवाले मधेसी दलहरुसँग भएको सहमति अनुसार संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीसँग छलफल गर्ने बताए ।

देउवाले संविधानप्रति सबैको अपनत्व होस् र कार्यान्वयन गर्न थप सहजता होस् भन्नाका लागि नै संशोधन हुन लागेको बताए । उनले भने, ‘संविधान संशोधन जस्तो महत्वपूर्ण विषय राजनीतिक सहमतिमा खोजिनुपर्छ, यसतर्फ वर्तमान सरकारले ध्यान दिएको हुनुपर्छ ।’

पार्टीका नेता तथा कार्यकर्ताबीच सरसल्लाह गरी पार्टीलाई अगाडि बढाउने भन्दै देउवाले पार्टी पदाधिकारी छिट्टै मनोनयन गर्ने जानकारी दिए ।

२०७३ भदौ १८ गते १४:०६ मा प्रकाशित

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.