१८ भदौ, कञ्चनपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान संशोधनमा एमालेलाई मनाउने बताएका छन् ।
मन्त्री लेखकले संविधान संशोधनका विषयमा वार्ता र सहमतिका माध्यमबाट अघि बढ्ने बताउँदै त्यसमा एमाले पनि राजी हुने विश्वास व्यक्त गरे । उनले संविधान संशोधनको विषयमा अहिले आफूहरु छलफल चरणमा पुगेको बताए ।
नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले संशोधनका लागि पहिला विषयवस्तु छनोट भए पनि राजनीतिक सहमति खोजिने बताए । त्यसका लागि प्रमुख प्रतिपक्षसहित सबै दलसँग छलफल र संवाद हुने बताए ।
अर्कौ एक प्रसंगमा मन्त्री लेखकले महाकालीमा पुल निर्माणको विस्तृत परियोजना प्रतिवेदन नेपालका तर्फबाट तयार भई भारतीय सरकारलाई बुझाउने लगायतका प्रक्रिया जारी रहेको बताए ।
२०७३ भदौ १८ गते १०:५० मा प्रकाशित