८ अर्ब बढीको चकलेट तथा चुइगम आयात

भाद्र १८, २०७३

नेपालमा गत आर्थिक बर्ष ६ अर्ब ३४ करोड तीन लाख ९१ हजारको चकलेट र  एक अर्ब ८४ करोड ७८ लाख सात हजार रुपैयाँको चुइगम आयात भएको छ । भन्सार विभागले प्रकाशन गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तिकाअनुसार, बिभिन्न २१ मुलुकबाट चकलेट र १० मुलुकबाट चुईगम आयात भएको उल्लेख छ । नेपालमा समेत चकलेट र चुईगमको उत्पादन हुने गरेपनि गुणस्तरका कारण विदेशबाट आयात हुने क्रमलाई भने प्रतिस्थापन गर्न सकिएको छैन । मुख्यतया कृषिबाट प्राप्त हुने कच्चा पदार्थको प्रयोग गरी उत्पादन गर्न सकिने चकलेट र चुइगमको आयात प्रतिस्थापन गर्न लगानी मैत्रीपूर्ण वातावरण बनाउनुपर्ने ब्यवसायीहरु बताउछन् ।  भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाका अनुसार गत आर्थिक वर्ष नेपालमा सबैभन्दा धेरै चकलेट र चुइगम भारतबाट आयात भएको छ । ४ अर्ब ६३ करोड ७९ लाख ९६ हजार रुपैयाँको चकलेट र एक अर्ब १६ करोड ६२ लाख ४० हजार रुपैयाँको चुईगम आयात भएको ढुंगानाको भनाई छ ।  यस्तै बंगलादेश, चीन, साउदी अरब, मलेसिया, टर्की, थाइल्याण्ड, दक्षिण कोरिया, जर्मनी, स्विजरल्याण्ड, ओमन, बेलायत, मोरोक्को र कुवेतबाट पनि उल्लेख्यमात्रामा चकलेट नेपाल भित्रिएको छ । बंगलादेशबाट सवैभन्दा बढी ३६ करोड ९० लाख रुपैयाँको चुईगम नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । यस्तै चीन, दक्षिण कोरिया, बेलायत, अमेरिका, जर्मनीबाट समेत लाखौं मुल्य बराबरको चुइगम नेपाल भित्र्याइएको थियो ।    प्रकाशित:भाद्र १८, २०७३

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.