संविधान संशोधनमा आँखा चिम्लेर सहीछाप गर्दैनौं : कमल थापा

भाद्र २५, २०७३- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुको छलफल, परामर्श बिना ल्याइने संविधान संशोधनसम्बन्धी प्रस्तावमा आँखा चिम्लेर सही छाप नगर्ने बताएका छन् । मधेसको समस्या समाधान गर्न राप्रपा नेपाल तयार भएपनि मधेसवादी दलले र सरकारले स्पष्ट खाकासहित संशोधन प्रस्ताव नल्याए सहयोग नगर्ने चेतावनी दिए ।

प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा भाग लिन दैलेख जाने क्रममा मिडिया नेपालद्वारा वीरेन्द्रनगरमा शनिबार आयोजित पत्रकार भेटघाटमा अध्यक्ष थापाले सरकारले ल्याउन लागेको संशोधन प्रस्तावबारे अहिलेसम्म प्रतिपक्षी दलसँग परामर्श नगरिएको बताए ।

मधेसवादी दललाई सत्तामा ल्याउन संशोधन प्रस्ताव दर्ता मात्र गर्न लागेको उनको आरोप थियो । ‘संशोधनका लागि संसदमा दुई तिहाई मत आवश्यक हुन्छ । अहिलेकै अवस्थामा प्रमुख प्रतिपक्षी एमाले र आफूहरुले समर्थन गर्ने अवस्था छैन,’ उनले भने, ‘मधेसको समस्या समाधान गर्ने भन्दा पनि संशोधनमा एमाले, राप्रपा नेपालले असहयोग गरे भनेर जनताको आँखामा छारो हाल्ने प्रयासमात्र हुँदैछ ।

संविधान असफल बनाउने षडयन्त्र
पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री संविधान कार्यान्वयन र तीव्र आर्थिक विकासका लागि योजनाबद्ध कार्यतालिका बनाएर काम गरिरहेको आफूसमेत सहभागी केपी ओली नेतृत्वको सरकार अपदस्थ गर्नु संविधान असफल बनाउने षडयन्त्रबाहेक अरु केही नभएको बताए ।

‘सरकार हटाउनुपर्ने केही कारण थिएन उनले भने, ‘चैतमा स्थानीय निर्वाचन गर्ने भनेपनि अहिलेसम्म केही तयारी छैन् । राज्य पुन:संरचना आयोगको कार्यक्षेत्रलाई समेत विवादमा पारिँदैछ । यो सब चुनाव नगर्ने षडयन्त्र हो ।’

प्रमुख दलहरु कुन मोडलको निर्वाचन गर्ने बारेमा अझैं एकमत नहुनुले चैतमा चुनाव हुने सम्भावना टरेको उनले बताए । ‘सरकार फेरिरहनुले अन्तर्राष्ट्रिय जगतमा नयाँ संविधानले पनि राजनीतिक स्थिरता कायम गर्न नसकेको सन्देश प्रवाह भएको छ,’ उनले भने । एक अर्को प्रश्नको जवाफमा अध्यक्ष थापाले ०७४ माघसम्म तीनवटै निर्वाचन गर्न नसके मुलुक ठूलो दुर्घटनामा पर्ने आशंका गरे ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.