उत्तरद्वारा फेरि आणविक परीक्षण

अहिलेसम्मकै ठूलो, ५.३ म्याग्निच्युडको कम्पन

भाद्र २५, २०७३- उत्तर कोरियाले शुक्रबार अहिलेसम्मकै सबैभन्दा ठूलो परमाणु परीक्षण गरेको छ । जसका कारण ५ दशमलव ३ म्याग्निच्युडको कम्पन रेकर्ड भएको छ । उत्तर कोरियाले हालसम्म गरेको यो पाँचौं आणविक परीक्षण हो ।

दक्षिण कोरियाको योनहयाप समाचार संस्थाले उत्तर कोरियाको उत्तरपूर्वी क्षेत्रमा महसुस गरिएको कम्पन कृत्रिम भएको उल्लेख गरेको छ । हालैको उपग्रहबाट खिचिएका तस्बिरका आधारमा खुफिया संस्थाले उत्तर कोरियाले यसअघि परमाणु परीक्षण गरेको क्षेत्रमा गतिविधि बढिरहेको भन्दै पाँचौं परीक्षणको संकेत गरेका थिए ।

अमेरिकी भूगर्भ संस्था यूएसजीएसले शुक्रबार बिहान उक्त क्षेत्रमा मापन गरिएको कम्पन विस्फोटका कारण भएको जनाएको छ । यो वर्ष कम्युनिस्ट मुलुकले लगातार प्रतिबन्धित विनाशकारी हतियार परीक्षण गर्दै आएको छ । साथै नेता किम जोन उनले आफ्ना शत्रुहरूलाई हमला गर्ने धम्की दिंदै आएका छन् ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै परमाणु वा क्षेप्यास्त्र प्रविधिको परीक्षण गर्न रोक लगाए पनि त्यसको पालना भएको छैन । शुक्रबार उत्तर कोरियाको राष्ट्रिय दिवस हो । यसलाई उत्तरले आफ्नो सैन्य शक्ति प्रदर्शन गर्ने अवसरका रूपमा प्रयोग गरेको छ ।

संसारभर आक्रोश
विश्वका नेताहरूले शुक्रबारको आणविक परीक्षणलाई लिएर कडा ढंगले क्षोभ प्रकट गरेका छन् । दक्षिण कोरियाले नेता किम जोन उन ‘पागल पारामा’ गएको टिप्पणी गरेको छ । चीनले यसको कडा हिसाबमा विरोध गरेको छ । जापानले खरो रूपमा आलोचना गरेको छ भने अमेरिकाले गम्भीर परिणतिको चेतावनी दिएको छ । रसियाले उत्तर कोरियाबाट यस्ता कार्य अविलम्ब रोकिनुपर्ने भनेको छ ।

राष्ट्रसंघीय सुरक्षा परिषद्को यस विषयलाई लिएर छिट्टै बैठक बस्दैछ । उत्तरले यो वर्षको सुरुमै तथाकथित ‘हाइड्रोजन बम’ परीक्षण गर्दा राष्ट्रसंघले पहिलेदेखि लगाउँदै आएको नाकाबन्दीलाई थप कडा बनाएको थियो । त्यसका बावजुद उत्तरले फेरि यो परीक्षण गरेको हो ।

सन् २००६ मा पहिलो पटक परीक्षण गरेयता राष्ट्रसंघले अहिलेसम्म ५ पटक नाकाबन्दी थपिसकेको छ । विश्वका शक्ति मुलुक र क्षेत्रीय शक्ति मुलुक सम्मिलित विभिन्न चरणका वार्ताले उत्तरको आणविक कार्यक्रममा अलिकति पनि अंकुश लाग्न सकेको छैन ।

उत्तर कोरियाले शुक्रबार विज्ञप्ति जारी गर्दै धम्की र नाकाबन्दीप्रति रोष प्रकट गरेको छ । उत्तरले एउटा सार्वभौम मुलुकको आत्मरक्षाको अधिकारलाई कुण्ठित गर्न अमेरिकी नेतृत्वका शक्तिहरू लागेको भन्दै भत्र्सना गरेको छ । अमेरिका र दक्षिण कोरियाले दक्षिणमा क्षेप्यास्त्र प्रतिरोधी (एन्टीमिसाइल डिफेन्स सिस्टम–थाड) स्थापना गर्न लागेपछि उत्तर क्रुद्ध बनेको हो ।

उत्तरका पछिल्ला गतिविधिले उसको एक्लो सहयोगी मुलुक चीन पनि क्षुब्ध भएको देखिएको छ । यस वर्षका दुवै परीक्षणमा चीनले विरोध अभिव्यक्त गरेको छ । चीनको विदेश मन्त्रालयले उक्त घटनालाई लिएर कूटनीतिक रूपमा विरोध दर्ता गर्ने उल्लेख गरेको छ । साथै अवस्था बिगार्ने कुनै पनि गतिविधि नगर्न उत्तरलाई आग्रह गरेको छ ।

प्युङे भूमिगत आणविक क्षेत्र नजिक परीक्षण गरिएको घण्टौंपछि राज्य नियन्त्रित टीभीका माध्यमबाट त्यससम्बन्धी समाचार दिइएको थियो । दक्षिण कोरियाली सैन्य खुफियाका अनुसार परीक्षण विस्फोटको विस्फोटकीय परिणाम १० किलो टन थियो, जुन आजसम्म उत्तरले गरेको सबैभन्दा भारी परिमाणको हत्कण्डा हो । केही विश्लेषकहरूले चाहिँ २० किलो टन नै प्रयोग भएको आकलन गरेका छन् । सन् १९४५ मा अमेरिकाले जापानको हिरोसिमामा खसालेको बमको विस्फोटकीय परिमाण १५ किलो टन थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.