तीनवटै निर्वाचन एकैचोटी गर्न नयाँ शक्ति नेपालको सुझाव

बुटवल,असोज १५ । नयाँ शक्ति पार्टी, नेपालले सम्भव भएसम्म तीनवटै निर्वाचन (स्थानीय निकाय, प्रदेश र संघ) एकैपटक गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ । निर्वाचन आयोगसँग निर्वाचनका विषयमा भएको छलफलका क्रममा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले तीनवटै निर्वाचन एकैचोटि गर्नुपर्ने सुझाव दिनुभएको हो । निर्वाचन आयोगले निर्वाचनका विषयमा छलफल गर्न नयाँ शक्ति पार्टी, नेपाललाई आयोगमा बोलाएको थियो ।

छलफलका क्रममा संयोजक भट्टराईले निर्वाचनलाई कम खर्चिलो, स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनुपर्ने बताउनुभयो । उहाँले दलहरुलाई पारदर्शी र भ्रष्टाचारबाट मुक्त बनाउने गरी निर्वाचन कानून बनाउन पनि सुझाव दिनुभयो ।

त्यसैगरी संविधानमा रहेका निर्वाचनसम्बन्धी केही अप्ठेराहरु फुकाउनुपर्ने सुझाव दिएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो । निर्वाचन प्रणाली एउटै तर प्रदेशमा १७ वटा क्लस्टर र संघमा १६ वटा क्लस्टरको उल्लेख भएको लगायतका निर्वाचनसम्बन्धी अप्ठेरो फुकाउनुपर्ने प्रवक्ता देवकोटाले बताउनुभयो ।

निर्वाचन आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्वाचनको तयारीबारे ब्रिफिङ गर्नुभएको थियो । उहाँले निर्वाचन आयोगले मस्यौदा गरेर पठाएको राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचनसम्बन्धी ऐन लगायतका कानूनहरु संसदबाट पारित हुनुपर्ने, स्थानीय निकाय तथा प्रदेशहरुको सीमांकन टुंगिनुपर्ने बताउनुभयो । निर्वाचन आयोगले तिहारपछि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिँदै उहाँले २०७४ माघ ७ भित्र तीनवटै निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको बताउनुभयो ।

छलफलमा आयोगको तर्फबाट प्रमुख निर्वाचन आयुक्त यादवसहित आयोगका कर्मचारीहरु सहभागी हुनुहुन्थ्यो भने नयाँ शक्ति पार्टी, नेपालका तर्फबाट संयोजक भट्टराई, सहसंयोजक दुर्गा सोव, संगठन विभाग संयोजक देवेन्द्र पौडेल, प्रवक्ता देवकोटा, संसदीय मामिला विभाग संयोजक केशव दाहाल, कानून तथा मानवअधिकार विभाग संयोजक मुक्ति प्रधान, राष्ट्रिय मामिला संयन्त्र संयोजक परशुराम तामाङ, केन्द्रीय कार्यालय सचिव वामदेव क्षेत्री लगायत हुनुहुन्थ्यो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.