बुटवल,असोज १६ । प्रधानमन्त्री पुष्पकमल दाहालले दशैका लागि उपत्यकाबाहिर यातायात मन्त्रालयको सम्वन्वयमा एक सय वटा बस सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री दाहालले दशैं, तिहार, छठ लगायतका पर्वहरुलाई मध्यनजर गरी उपत्यकादेखि देशका प्रमूख शहरहरु र जिल्ला सदरमुकामसम्मका लागि एक सय बस चलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई निर्देशन दिनुभएको हो ।
सर्वसाधारणको यातायात आवगमनलाई सहज बनाउन प्रधानमन्त्रीले तुरुन्तै बस सञ्चालन गर्न पनि निर्देशन दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारका विभिन्न निकाय, प्याब्सन, एनप्याब्सन लगायतका नीजि विद्यालय तथा संस्थासँग समन्वय गरी बसको प्रबन्ध गर्नुपर्ने प्रधानमन्त्रीको सुझाव थियो ।
सरकारले विजयादशमीको दिन भने काठमाडौंमा सरकारी गाडी चलाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयले दसैंको टीकाका दिन सेना, प्रहरी र अन्य सरकारी गाडी सञ्चालन गर्ने तयारी गरेको हो ।