रुपन्देही उद्योग संघको ३८ औं साधारणसभा

बुटवल, १७ असोज । उद्योगमन्त्री नविन्द्रराज जोशीले राजनीतिक दलहरु राजनीतिमा मात्रै केन्द्रित नभई आर्थिक समृद्धिका लागि केन्द्रित हुनुपर्ने बताएका छन् । संविधानको कार्यान्वयनसंगै देशलाई सामथ्र्यावान वनाउन उद्योगको विकास अपरिहार्य भएको उनले बताए ।
रुपन्देही उद्योग संघको ३८ औं साधारणसभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै उनले औद्योगिक ऐन ल्याउन दलहरु एकमत भएजस्तै समृद्धिको लागि पनि एकजुट हुनुपर्ने बताए । ‘हामीले बिदेशिने युवाहरुलाई देशमै रोजगार दिनेगरी काम शुरु गर्न लागि रहेका छौं, उनले भने–‘यो अभियानमा सबै सहयोगी हुनुपर्छ ।’
हाल बन्द अवस्थामा रहेका सरकारी स्वामित्वका उद्योगहरुको बर्गिकरण गरी सञ्चालन गर्ने योजना रहेको उनले बताए । औषधि उद्योग शुभारम्भको अवस्थामा रहेको भन्दै बुटवल धागो कारखाना, छाला, सुगर, जुट मिलहरु थ्रीपीपीको आधारमा सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए । ‘मैले जे काम गर्न सक्छु, ती मात्रै भन्छु, उनले दाबि गर्दै भने–‘एक वर्षमा उद्योगको क्षेत्रमा देखिनेगरी विकास हुनेछ ।’
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले राजनीतिक दलहरुले राजनीतिलाई मात्रै प्राथमिकता दिनु नहुनेभन्दै आर्थिक विकासमा लाग्नुपर्ने बताए । नेपालमा लगानीका सम्भावना बढी रहेको भन्दै त्यसको उपयोग गर्न नसकिएको बताए । ‘उद्योग चलाउने निरिह, जग्गा बेच्नेहरु धनी भएका छन, त्यस्तो अवस्थाले देश समृद्ध बन्न सक्दैन, उनले भने ।
त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले रुपन्देही आर्थिक केन्द्रको रुपमा विकास हुदै गएको बताए । भैरहवाको सेज, बिमानस्थल, सिक्स लेन सडक, मोतिपुर औद्योगिक क्षेत्रको विकास पूरा हुनासाथ रुपन्देही आर्थिक रुपमा धेरै माथि पुग्ने बताए ।
रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले उद्योगीहरु लगानी गर्न तत्पर रहेको भन्दै अझै पनि वातवारण सिर्जना हुन नसकेको बताए । राजनीतिक दलहरु आर्थिक एजेन्डामा नआउदासम्म यस्तो दोधार उद्योगीमा आइरहने उनको भनाई छ । खुला सिमाना, विद्युत संकट, यातायात, कच्चा पदार्थको अभाव र समस्यामा उद्योगीहरु रहेकाले लगानीको सुरक्षा हुन नसकेको उनको भनाई छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.