बुटवल,असोज१७ । प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेताहरुले इलाकालाई आधार मानेर स्थानीय तहको संख्या र सीमाना निर्धारण सहितको पुनर्संरचनाको काम कार्तिक मसान्तसम्ममा पुरा गर्न आग्रह गरेका छन ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा सोमवार तीन दलका नेताहरुले स्थानीय निकाय पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलसंग छलफल गरी समयमै स्थानीय तहको चुनाव गर्न र तीन दलको सहमति तथा मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयन अनुसार काम तिव्र वनाउन आयोगलाई आग्रह गरेका हुन ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका उपाध्यक्ष भीम रावल तथा आयोगका अध्यक्ष वालानन्द पौडेल सहभागी हुनुहुन्थ्यो ।
पुरै इलाकालाई रुपान्तरण गर्ने र संख्या तोक्ने काम नभएको भनेर आयोगलाई जानकारी गरायौ र इलाकालाई आधार बनाएर प्रतिवेदन बनाउन आग्रह गर्यौ-स्थानीय विकास मन्त्री हितराज पाण्डेल भन्नुभयो ।
बैठकमा सहभागी एमालेका उपाध्यक्ष भीम रावलले पनि इलाकालाई आधार मानेर स्थानीय तह पुनःसंरचनाको खाका तय गर्न आग्रह गरिएको र पुरानो मापदण्ड तथा संख्याबारे आयोगले आवश्यकता अनुसार निर्णय गर्ने अधिकार रहेको स्पष्ट पारिएको बताउनुभयो । यसअघि सरकारले असोजमसान्तभित्र प्रतिवेदन बुझाउन समय दिएको थियो ।
आयोगका अध्यक्ष बालानन्द पौडेले इलाकालाई मात्रै आधार बनाउने नभै त्यो पनि एक आधार भएको भनेर नेताहरुले जानकारी दिएको बताउनुभयो । हामीहरु पनि स्पष्ट भयौ अव त्यही अनुसार काम हुन्छ – पौडेलले भन्नुभयो । बैठकमा उहाँले एलडिओ सरुवाले काम प्रभावित भएको बताएपछि प्रधानमन्त्रीले आयोगलाई सरकारले सवै सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
आयोगले ५६५ वटा स्थानीय तहको खाका बनाएर काम अन्तिम चरणमा पुराएको थियो । त्यसमा काग्रेस र माओवादी केन्द्र असहमत भएपछि तीन दलको छलफलबाट इलाकालाई आधार मानेर पुनःसंरचना गर्न आयोगलाई पुनःकार्यदेश दिइएको थियो। तीन दलको निर्णयमा मधेशी मोर्चाले भने असहमति जनाएका छन्।