बुटवल असोज १९ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेतृत्वको लागि लगनशीलता र निस्वार्थ भावना आवश्यक हुने बताउनुभएको छ ।
पाँचौ अन्तर्राष्ट्रिय बालिका दिवस, २०१६ का अवसरमा आयोजित राष्ट्रपतिसँग बालिका कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
समग्र राष्ट्रिय किशोरी सञ्जालको आयोजनामा भएको सो कार्यक्रममा २० जिल्लाका ४० किशोरीहरुले नेतृत्वमा बालिका अभियान अन्तर्गत बालिका संसदको अभ्यास गर्दै नेपालमा किशोरीहरुले भोगिरहेका चुनौति र तिनको समाधानमा केन्द्रित रहेर नमूना नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
सन्जालकी अध्यक्ष मोनिका रानाभाटले संचालन गरेको सो कार्यक्रममा ब्यवस्थापिका-संसदको बिकास समितिका अध्यक्ष श्री रबिन्द्र श्रेष्ठले बालिका किशोरीहरुले अवसर पाएमा आजैबाट उनीहरु समाज र देशमा कुनैपनि नेतृत्व लिन तयार हुन सक्तछन्, त्यसैले अवसर दिनुपर्छ भन्नेकुरामा जोड दिनुभएको थियो। कार्यक्रममा सरकारी तथा
गैरसरकारी क्षेत्र र बालअधिकारको क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरुको समेत उपस्थिति थियो। संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय बालिका दिवस, २०११ देखि हरेक बर्ष बिभिन्न कार्यक्रमहरुको आयोजना गरी अक्टोबर ११ का दिन संसारभर मनाउने गरेको छ । यो बर्षको बालिका दिवस किशोरीहरुको समग्र विकासमा केन्द्रित रहेको राष्ट्रपति कार्यालयका उपसचिव हरिप्रसाद दवाडीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।