बुटवल । असोज २२ । दशै गाउँघर भित्रिइसकेको छ । दशैका लागि धेरैजसो राजधानी काठमाडौ लगायत शहर छाडेर आआफ्नो गाँउ पुगेका छन । गाँउमा अहिले चहल पहल बढेको छ ।
स्थानीय बजार क्षेत्र र जिल्ला सदरमुकामहरुमा पनि चहलपहल छ । यस्तै गाँउघरमा भेटघाट र खसीबोका र रागाँ तथा कुखरा काट्ने,पिङ खेल्नेहरु जताततै भेटिन्छ ।
गाउंघरका आगन र गोठमा सवारी साधन थुप्रिएका छन । सडकमा जीप तथा बसहरुको आउजाउ चलिरहेको छ । अरु बेला बुढाबुढी र केही केटाकेटी मात्रै भेटिने गाउँमा अहिले सवै जमघट भएका छन- गुल्मी बलेटक्सारका कृष्ण पन्थले भन्नुभयो ।
गाँउका मन्दिरहरुमा पुजाआजा गर्ने र बलिदिनेहरुको पनि उल्लेख उपस्थिति छ ।
काठमाण्डौंबाट २५ लाख मानिस दशैमान्न गाँउ फर्केका छन भने देशका अन्य शहरहरुबाट समेत घर फर्कनेहरुको लर्को लागेको छ ।
बुटवलबाट झण्डै ७० हजार मानिस दशै मान्न गाउँ फर्केका छन । यस्तै पोखरा नेपालगंज र चितवन लागयका मुख्य शहरबाट समेत सर्वसाधारणहरु गाँउमा पुगेका छन ।
सरकारी कार्यालयहरु बन्द भएकाले कर्मचारीहरु समेत छैनन । कार्यालयहरु सुनसान छन भने शहरी क्षेत्र पनि सुनासान जस्तै छ ।
फुलपातीको रौनक
आश्विन शुक्ल सप्तमीका अवसरमा शनिवार देशभरका शक्तिपीठमा फूलपाती भित्र्याइँदै छ ।
दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्र्याउने कार्य गरिने नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
फूलपातीस्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा भित्र्याउने प्रचलन छ ।
नौ पातमा क्रमशः ब्रहृमायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ ।
सो दिन विशेषगरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानी आदिको समेत पूजा गर्ने प्रचलन छ ।अध्यक्ष गौतमका अनुसार कृषकहरु यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने गर्छन् ।