सरकारी कार्यालय खुले पनि कर्मचारीको उपस्थिति न्यून

काठमाडौ । असोज २७। दसैँको बिदाका कारण बन्द भएका सरकारी कार्यालय शुक्रबारदेखि खुलेका छन् ।

दसैँ बिदापछि सरकारी तथा निजी कार्यालय खुले पनि शुक्रबार भएकाले कर्मचारीको उपस्थिति न्यून देखिन्छ ।

मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र पनि कर्मचारीको उपस्थिति न्यून छ । दसैँ बिदापछि पहिलो दिन भएकाले पनि कर्मचारीको चहलपहल कम भएको गृहमन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए ।

उनकाअनुसार शनिबार दसैँको पूर्णिमा र सार्वजनिक बिदा परेकाले टाढा रहेका कर्मचारी तथा सेवाग्राही पनि फर्कने क्रममा रहेकाले सामान्य बन्न अझै एक दुई दिन लाग्नेछ । दसैँमा छ दिन बन्द रहेका सरकारी कार्यालय खुलेपछि कामकाजी सर्वसाधारणले केही राहत महसुस गरेका छन् ।

दसैँमा सुनसान बनेको उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ, टीकाको दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्रु विभिन्न गन्तव्यबाट उपत्यका भित्रिरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

उपत्यकामा सबैखाले सवारीसाधन बाक्लो रुपमा चलेका छन्, सर्वसाधारणको आवतजावत बाक्लो छ भने सडक, चोक गल्लीका पसल खुलेका छन् ।

उपत्यकाको सवारी आवागमन सामान्य रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । -रासस

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.