काठमाडौ। कार्तिक ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावका पक्षमा उभिन आफ्ना सासंसदहरुलाई निर्देशन दिनुभएको छ ।
सत्तारुढ नेकपा माओवादी केन्द्रको आइतवार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले महाअभियोगबाटै कार्कीलाई हटाउने निर्णय गरी प्रस्तावलाई निष्कर्षमा पुर्याउन निर्देशन दिनुभएको हो ।
बैठकमा दाहालले महाअभियोग प्रस्तावका बिषयमा अन्य दलका नेताहरुसँग छलफल भएको र महाअभियोग प्रस्ताव अघि बढाउन सत्ता साझेदार दल नेपाली कांग्रेससमेत सकरात्मक रहेको बताउनुभएको थियो ।
वानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकले कार्कीविरुद्दको महाअभियोग प्रस्ताव अघि बढाउने निर्णय गरेको र प्रधानमन्त्रीले निर्देशन समेत दिनुभएको माओवादी नेता अग्नी सापकोटाले जानकारी दिनुभयो ।
यसैबीच नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले महाअभियोगका बिषयमा काग्रेस जनमतका विरुद्ध नजाने बताउनुभएको छ ।
तर पार्टीको सोमवारको बैठकमा छलफल हुने पनि उहाँले बताउनुभयो । आफ्नै निवास बुढानिलकण्ठमा संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै सभापति देउवाले महाअभियोग प्रस्तावमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने र त्यसबेला जनमतको पनि कदर गरिने बताउनुभयो ।
विभिन्न १० विद्यार्थी संगठनले अख्तियार प्रमुख कार्कीले संविधान र विधिको धज्जी उडाएको भन्दै कानुनी कारबाही अघि बढाउन सभापति देउवाको ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए ।