काठमाडौँ,कात्तिक ९ । संसदको बिकास समितिले देशका प्रमुख सडकको स्तर सुधारका लागि समन्वय गरेर काम गर्न सरकारी निकायहरुलाई निर्देशन दिएको छ ।
मंगलवार बसेको बैठकले सडक विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र स्थानीय विकास मन्त्रालय लगायतका सरकारी निकायबीच समन्वय नहुँदा देशभरका प्रमुख सडकहरुको अवस्था कमजोर भएको र यात्रूले सास्ती भोग्नुपरेको भन्दै अवस्था सुधारका लागि सरकारी निकायबीच समन्वय गर्न निर्देशन दिएको हो ।
बैठकमा सभापति रविन्द्र अधिकारीले सडक सुधारका लागि सरकारी निकायबीच समन्वय नहुदा समस्या बढेको बताउनुभएको थियो । सांसदहरुले भने राजधानीकै सडकहरुको अवस्थाको बिजोग रहेको तर बनाउने तर्फ सरकारी संयन्त्र निरीह देखिएको भन्दै आलोचना गरेका थिए ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव धनबहादुर तामाङ र सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले चाहिने जति जनशक्ति र प्राविधिक उपकरण नपाउँदा सडक निर्माणमा केही समस्या भइरहेको दावी गर्दै आफ्ना निकायहरु सडक निर्माण र मर्मतका लागि योग्य रहेको जिकिर गरेका थिए ।
विकास समितिले सातै प्रदेशका सडकको अवस्था र निर्माण प्रगतिबारे अनुगमन गर्न सातवटा उपसमितसमेत गठन गरेको छ ।
Comments
comments