काठमाडौं, कार्तिक १० । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरे लगत्तै चुनावको मिति घोषणा गरिने बताउनुभएको छ ।
बुधबार ने.क.पा. (माओवादी केन्द्र) पर्वतको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘स्थानीय तह पूनर्संरचना आयोगले छिटै प्रतिवेदन दिँदैछ । हामी संविधान संशोधनको अन्तिम तयारीमा छौं । विवादहरु घटेका छन्, राजनीतिक समझदारीको वातावरण सकारात्मक बन्दैछ । संविधान संशोधनपछि सरकारले चुनावको मिति घोषणा गर्नेछ । संविधान कार्यान्वयनको दायित्वप्रति सरकार पूर्ण इमान्दार र क्रियाशील छ ।’
प्रधानमन्त्री दाहालले आफुले देशको नेतृत्व गरेको बिषय कतिपयलाई मन नपरेकोले देशको हितमा गरिएका काम र महत्वपुर्ण उपलब्धिहरुको गलत प्रचार गरेको आरोप पनि लगाउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘प्रचण्डले देशको नेतृत्व गरेको कुरा कतिपयलाई मन परेको छैन । उनीहरुलाई प्रचण्ड रहुञ्जेल हाम्रो भविष्य छैन भन्ने डर पनि होला । त्यसैले उनीहरु देशकै हितमा गरिएका काम र महत्वपूर्ण उपलब्धिहरुको पनि गलत प्रचार गरिरहेका छन् । तर, मेरो नेतृत्वको सरकारले नेपाल, भारत र चीनबीच हार्दिक, मैत्रीपूर्ण एवं नेपालको विकासका लागि डाइनामिक पुल बन्ने गरी सम्बन्ध सुदृढ गर्दैछ । यो कुरा सामान्य होइन, नेपालकै सन्दर्भमा युगान्तकारी र ऐतिहासिक उपलब्धि हो ।’
नयाँ सरकार गरीबको पक्षमा क्रियाशील रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकारलाई गरीबको पक्षमा फर्काउन खोजिएको छ । गरीबका लागि सरकार कार्यक्रम यत्तिकै भनिएको होइन । हामी गरीबको पक्षमा राजनीति गरेर आएका हौं । विगतमा आफ्नो वर्गको सेवा गर्ने कुरामा हामी अलिकति चुकेका छौं । यसपटक वास्तविक गरीबहरुका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, सीपमूलक कामका लागि विशेष अभियान सञ्चालन गरिनेछ । यो अभियान गरीबहरुको सेवा गर्ने दीर्घकालीन र रणनीतिक योजना हुनेछ । गाउँ–गाउँमा बजेट र गरीबमूखी कार्यक्रम लगेर जनताको सेवा गरिनेछ ।’